४ भाद्र २०७७, बिहीबार

एजेन्सी, ४ भदाै । रुसले हालै सार्वजनिक गरेकाे कोरोना भाइरसविरुद्धको भ्याक्सिन (खाेप) ‘स्पुतनिक भी’ बारे अमेरिका लगायत पश्चिमा मुलुकले आलोचना गरेका छन् । यसै सन्दर्भमा  एक रुसी वैज्ञानिकले भने उनीहरू प्रतिस्पर्धामा पछि परेपछि आलोचना गर्न थालेकाे बताएका छन् ।

समाचार एजेन्सीहरूका अनुसार रुसको एकेडमी अफ साइन्सेजका उपाध्यक्ष भ्लादिमिर चेखोनिनले रुसकाे खाेपप्रति सबैकाे विश्वास बढ्ने बताएका छन् । उनले उक्त खाेपलाइ लिएर भएका शंका र आलोचनाकाे अवस्था लामो समयसम्म नरहने बताएका छन् । उनले रुसकाे खाेपलाइ लिएर ‘विदेशी वैज्ञानिकहरू बढी नै आलोचनात्मक भएकाे’ बताए, किनभने उनीहरू खाेप उत्पादनकाे प्रतिस्पर्धामा पछि परेका छन्, चेखाेनिनकाे दाबी छ ।

साथै उनले अब चीनमा पनि दुई वा तीन हप्तामै खाेप दर्ता हुने अनुमान गरेका छन् भने यस वर्षको अन्त्यसम्ममा अमेरिकाले पनि खोप दर्ता गर्ने बताए ।

केही दिनअघि मस्कोमा रहेको गामालेया नेसनल रिसर्च सेन्टरले कोरोनाभाइरस विरुद्ध रूसमै बनेकाे स्पुतनिक भी खोप दर्ता गराएकाे थियाे । जुन संसारमै पहिलोपटक दर्ता भएको काेराेनाविरूद्धकाे भ्याक्सिन मानिन्छ । तर यसकाे ट्रायल पूरा नभएका कारण धेरैले शंका र अविश्वास व्यक्त गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV