४ भाद्र २०७७, बिहीबार
  • रिदम सिंह

बझाङ, ४ भदौ । २०७७ साल श्रावण २५ गते सुर्मा गाँउपालिका वडा नम्बर ४ की लक्ष्मी बोहरा सुत्केरी व्यथा लागेर नजिकैको स्वास्थ्य संस्था पुग्नु भयो । नजिकैको स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि जिल्ला अस्पतालमा रिफर गरीयो । उनी जिल्ला अस्पतालमा भर्ना भइन् । भर्ना भएको केही समयपछि जिल्ला अस्पतालका स्टाफ नर्सदेखि डाक्टरसम्मले उनको अवस्था बुझे ।

उनको अप्रेसन गरेर बच्चा निकाल्नुपर्ने अवस्था भयो । र, सबै प्रकृया अघि बढाएर अप्रेसन थिएटरमा लक्ष्मीलाई लगियो । अप्रेसन सफल त भयो तर उनको पाठेघर खुम्चिएन । लगातार रगत बगिरह्यो । उनका आफन्तलाई जिल्ला अस्पतालका डाक्टरले रगतको खोजी गर्न भने । आफन्तले एक दुई ठाँउ मात्रै रगत पाए । उच्च रत्तश्राव हुन थालेपछि बोहराको ज्यान नै जोखिममा पर्न थालेपछि जिल्ला अस्पतालमा कार्यरत डाक्टरदेखि कार्यालय सहयोगीसम्म मिल्ने जति सबैले रगत दिए । बोहरालाई ११ पोका रगत दिएर उनको ज्यान बल्लतल्ल बच्यो ।

उनीजस्तै २०७५ साल साउनको महिनामा छविसपाथीभेरा गाँउपालिका– २ की २९ वर्षीया सुनिता मण्डेल पनि सुत्केरी हुनकै लागि जिल्ला अस्पतालमा पुगिन् । उनको पेटमा नै बच्चा खेर गैसकेको थियो । अप्रेसन गरेर नै बच्चा निकाल्नुपर्ने अवस्था आयो र अप्रेसन गरियो ।

उनको अप्रेसन गर्नुअघि नै उच्च रत्तश्राव भैरहेको थियो । उनका आफन्तहरूलाई पनि जिल्ला अस्पतालका डाक्टरले रगत खोजी गर्न आग्रह गरे । त्यो दिनको उनका जेठाजु केदार मण्डेललाई अझै सम्झना छ । न टेलिफोनको नेटवर्क थियो, न त कोही राम्रोसंग चिनेजानेका व्यक्ति नै । अनि चिनेकाहरूसँग ब्लड गु्रप पनि नमिल्ने भएपछि निकै तनाब खेप्नुपर्ने बाध्यता भयो ।

पछि जिल्ला अस्पतालका डाक्टरले नै नजिकै रहेको नेपाल आर्मीको ब्यारेकमा खबर गरे । अनि जिल्ला अस्पतालका कर्मचारी र नेपाल आर्मीले गरी ८ पोका रगत दिएर उनको ज्यान बचाए ।

०००

यी त भए प्रतिनिधि घटना । रगत अभावका कारण धेरैको ज्यान खतरामा पर्ने गरेको छ । तर अब बझाङका स्थानीय बासिन्दाले यो समस्या झेल्नु पर्ने छैन । गम्भीर खालका बिरामीहरूका लागि रगतको अभाव भइरहने बझाङमा पहिलोपटक जिल्ला अस्पतालले रक्त सञ्चार केन्द्र स्थापना गरी सेवा सुरु गरेको छ । यससँगै यहाँका स्थानीय बासिन्दाले रगत नपाउने समस्याबाट छुटकारा पाउने आशा गरिएको छ ।

जिल्ला अस्पतालमा बुधबार एक औपचारिक कार्यक्रम गरि रक्त सञ्चार केन्द्रको उद्घाटन् गरि सेवा सुचारु गरेको हो ।

प्रतिनिधि सभा सदस्य भैरवबहादुर सिंहले एक औपचारिक कार्यक्रमका बीच रक्त सञ्चार केन्द्रको उद्घाटन गर्नुभयो । विगतका वर्षहरूमा जिल्लामा एउटा ब्लड बैंकको आवश्यकता महसुुस गरिएको भए पनि रकम अभावले यो सेवा सुचारु गर्न सकिएको थिएन् । गत वर्षको जिल्ला सभाले निर्णय गरेर जिल्लामा एक ब्लड बैंकको स्थापना गर्ने भनेअनुसार स्थानीय पुर्वाधार विकास कार्यक्रमबाट ५० लाख रकम विनियोजन गरेपछि रक्त सञ्चार केन्द्रको स्थापना गर्न सकिएको जिल्ला अस्पतालका प्रमुख डा. सन्दिप ओखेडाले बताउनुभयो ।

यस सेवाका लागि आवश्यक सबै उपकरणहरू जडान भएर बुधबारबाट रक्तदान गर्नेहरूबाट रगत संकलन गर्ने कार्यको समेत सुरुवात गरिएको छ ।

जिल्लामा रगत अभावका कारणले सुत्केरी महिलाहरूलाई बढी समस्या हुने बताउँदै डा.ओखेडाले भन्नुभयो, ‘अबका दिनमा रगत अभावका कारण कसैको पनि अकालमा मृत्यु हुने छैन ।’ उहाँले रक्तदान जीवन दान भएकाले सबैले ब्लड बैंकमा आएर रगत दान गरिदिन हुन समेत आग्रह गर्नुभयो ।

बुधबार उद्घाटन समारोहमै प्रविन्द्र धामी, लोकेन्द्र सिंह, ईश्वर द्धाल, शैलु खड्का, गजेन्द्र जेठारा, हिमाल खड्का, किरेन्द्र सिंह, हेमन्त कुमार खड्का लगायतका युवाहरूबाट ८ पोका रगत संकलन गरिएको थियो ।

अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष लालबहादुर खड्काको अध्यक्षतामा उद्घाटन भएको रक्त सञ्चार केन्द्र स्थापना कार्यक्रममा जनप्रतिनिधि लगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

पछिल्लो समयमा जिल्ला अस्पताल बझाङको व्यवस्थापकीय पक्षका साथै अस्पताल प्रशासनको सकृयता र पहलले अस्पतालको सेवा प्रवाह सुधार भइरहेको छ भने अस्पतालमा उपचारका बिभिन्न उपकरणहरू समेत जडान भएका छन् । आउँदा दिनमा थोरै बेडको भए पनि भेन्टिलेरसहितको आईसियु सेवा सुचारु गर्नु पर्नेमा हामी सबैले जोड दिनुपर्ने सांसद भैरवबहादुर सिंहले बताउनुभयो ।

२५ शैयाको जिल्ला अस्पताल बझाङमा भौतिक पुर्वाधारको अभाव भए पनि हाल ७ जना डाक्टरहरू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV