३ भाद्र २०७७, बुधबार
  • तारा आचार्य,

विराटनगर, ३ भदौ । कारोना संक्रमण भएपछि अस्पतालबाट पाउनुपर्ने सामन्य स्वास्थ्य उपचार समेत नपाएको हुनाले बुबाको ज्यान गएको भन्दै घटनाको छानविन गर्न र दोषीलाई कानूनी कारबाहीको माग गर्दै उच्च अदालत विराटनगरमा रिट निवेदन दर्ता भएको छ ।

कोरोना संक्रमणका कारण मृत्यु भएको नेपाल विद्युत प्राधिकरणका कर्मचारी सीताराम दाहालकी छोरी निलिमा दाहालले उच्च अदालतमा रिट दर्ता गराउनु भएको हो । कोरोना संक्रमण भएपछि बुबालाई साउन २६ गते कोशी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।

विरामीको स्वास्थ्य अवस्था सामान्य छ, भनेर आफूहरुलाई अस्पतालबाट पठाइएको निवेदक निलिमाले निवेदनमा उल्लेख गर्नुभएको छ । रिट निवेदनमा निलिमाले २८ गते बुवासंग भेट हुँदा बुबाले कसैले पनि वास्ता नगरेको, स्वास्थ्यकर्मीहरुले आफूलाई उपचार नगरेका कारण असहज भएको बताउनु भएको र त्यसै दिन साँझ बुबाको निधन भएको जानकारी भयो भन्ने, उल्ललेख गरिएको छ ।

लापरवाहीका कारण न्यूनतम स्वास्थ्य उपचारसमेत नपाई बुबाले अकालमा ज्यान गुमाउनु परेको र अहिलेसम्म लापरबाही गर्ने उपर कुनै छानविन नभएको पीसीआर परीक्षणपछि आमा र दिदीलाई समेत संक्रमण पुष्टि भएपछि कोभिड–१९ अस्पतालमा बस्न अनुरोध गर्दा घरमै बस्नु भन्ने जवाफ आएपछि असुरक्षितरुपमा घरमै बस्न बाध्य भएको रिट निवेदनमा उल्लेख छ ।

स्वास्थ्य सेवा पाउनु नागरिकको नैसर्गिक अधिकार भएतापनि स्वास्थ्य संस्थाले सामान्य उपचार सेवा दिनुको साटो कैदीबन्दीको जस्तो व्यवहार गर्दा बुबाको अकालमै ज्यान गएको रिट निवेदनमा उल्लेख छ ।

कोरोना संक्रमितहरुको लागि कोभिड–१९ अस्पतालको पूर्वाधार व्यवस्थापन गर्न, पीसीआर परीक्षणको दायरा फराकिलो बनाउन, संक्रमित सूचित हुनासाथ उपचार गर्न निजी अस्पताल तथा निजी भेडिकल कलेजहरुमा क्वारेन्टाइन र आइसोलेसन स्थापना गर्न तथा संक्रामक रोग नियन्त्रण तथा रोकथाममा विधिहरुको पूर्ण पालना गराउन मुलुकी देवानी कार्यविधि संहिता २०७४ बमोजिम विपक्षीको नाममा अन्तरिम आदेश गर्न रिट निवेदनमा माग गरिएको छ ।

रिट निवेदनमा समाजिक विकास मन्त्रालयस्थित कोभिड १९ निगरानी तथा तथ्यांक संकलन तथा अनुगमन सचिवालय, प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालय, मन्त्रालयकै कोभिड १९ संकट व्यवस्थापन केन्द्र, विराटनगर महानगरपालिका जनस्वास्थ्य विभाग, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा धरान, कोशी अस्पताल विराटनगर, मेची अस्पताल भद्रपुर समेतलाई विपक्षी बनाइएको छ ।

परमादेश माग गर्दै दायर रिटमा विहीबार सुनुवाई हुने उच्च अदालत विराटनगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV