३ भाद्र २०७७, बुधबार
  • घनश्याम मिश्र,

जनकपुरधाम, ३ भदौ । मनरा सिसवा नगरपालिका ९ बथनाहाका एक युवकले नेपाल भारतको दजगजा क्षेत्रबाट दुर्लभ मूर्ति फेला पारेका छन् । मूर्ति भगवान बुद्धको जस्तै देखिने मूति २२ वर्षीय बलिन्दर सदाले फेला पारेका हुन् ।

फेला परेको उक्त मूर्ति लगभग एक फिटको रहेको छ । करिब १५ किलो तौल रहेको मूर्ति सयौं बर्ष पुरानो देखिन्छ । फेला परेको उक्त मूर्ति अन्य कहिकतै नदेखेको स्थानीय बताउँछन् ।

स्थानीयका अनुसार आज कुशे औशी भएकाले सदा विहान कुश उखेल्न दशगजा क्षेत्रमा पुगेका थिए । कुश उखेल्न लाग्दा उनले छेउमा रहेको नदीमा माछा जस्तो देखे । माछा भनेर समात्न पुग्दा उक्त मूर्ति भेटिएको ती युवकले स्थानीयलाई बताएका थिए ।

मूर्ति फेला पारेका सदालाई एसएसबीले नियन्त्रणमा लिएर भारततर्फ लगेको छ । मूर्ति फिर्ता गर्न भनेको र नमानेपछि उनलाई घरबाटै नियनन्त्रणमा लिएर एसएसबीले लगेको स्थानीय नेकपाका युवा नेता सत्येन्द्र यादबले जानकारी दिनुभयो ।

यता, महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले सदाको रिहाका लागि पहल गरिरहेको बताउनुभयो । उहाँले सदालाई एसएसबीबाट छुटाएर ल्याउन प्रहरी पठाएको जानकारी दिनुभयो ।

फेला परेको उक्त मूर्ति अहिले मनरा सिसवा प्रहरीको नियन्त्रणमा छ । मूर्ति फिर्ता नगरी सदालाई नेपाल फर्काउने प्रयासमा लागेको प्रमुख जिल्ला अधिकारी कटुवालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV