३ भाद्र २०७७, बुधबार
  • घनश्याम मिश्र,

धनुषा, ३ भदौ । कोरोना रोकथाम र नियन्त्रणसम्बन्धी भएका कामहरूको विवरण बुझाउन प्रदेश नम्बर २ सरकारलाई उच्च अदालत जनकपुरको वीरगञ्जस्थित अस्थायी इजलासले अन्तरिम आदेश जारी गरेको छ ।

अदालतले ७ भदौसम्म कोरोना नियन्त्रणसम्बन्धी साउनसम्म गरिएका मुख्य कामहरूको विवरण एवं सम्भावित कार्य योजनाको विवरणसहित उपस्थित हुन आदेश जारी गरेको हो । अधिवक्ता सुधीरकुमार कर्णले दायर गरेको रिटउपर सुनवाई गर्दै अदालतले उक्त आदेश जारी गरेको हो ।

अधिवक्ता कर्णले १६ साउनमा प्रदेश २ सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सामाजिक विकास मन्त्रालय लगायतलाई विपक्षी बनाउँदै कोरोना रोकथाम र नियन्त्रणतर्फ उदासीनता देखिएकाले अन्तरिम आदेशको माग गर्दै रिट दायर गरेका थिए ।

न्यायाधीश डिल्लीराज आचार्यको इजलासले रिट दायर भएकै दिन १६ साउनमा १५ दिनको म्याद दिँदै कोरोना रोकथाम र नियन्त्रणका लागि भएको कामको विवरणसहित उपस्थित हुन अल्पकालीन आदेश जारी गरेको थियो ।

तर, अदालतको आदेशअनुसार प्रदेश सरकारको तर्फबाट विवरणहरू पेश नभएपछि १ भदौमा अब्दुल अजिज मुसलमान र रमेशकुमार पोखरेलको संयुक्त इजलासले सात दिनभित्र सम्पूर्ण विवरण पेश गर्न आदेश जारी गरेको छ ।

अन्तरिम आदेशमा भनिएको छ, ‘यस अदालतबाट २०७७/४/१६ मा जारी भएको अन्तरिम आदेशानुसारका कार्यहरू एवं कोरोना नियन्त्रणसम्बन्धमा मिति २०७७/४/३२ सम्म गरिएका मुख्य मुख्य कामहरूको विवरण एवं तत्सम्बन्धी सम्भावित कार्य योजना विवरणका साथ मिति २०७७/५/१ मा उपस्थित हुन आउनु भनी विपक्षीहरूको नाउँमा आदेश भएकोमा सो बमोजिम विवरण पेश हुन आएको देखिएन । तसर्थ यो आदेश प्राप्त भएको मितिले ७ दिनभित्र विपक्षीहरूबाट उल्लेखित विवरण यस अदालतमा अनिवार्य रुपमा पेश गर्नु गर्न लगाउनु ।’

साथै पीसीआर टेष्टको दायरा बढाउनुका साथै कन्ट्याक्ट ट्रेसिङको कार्यलाई प्राथमिकताका साथ अघि बढाउन अदालतले आदेश दिएको छ ।

निषेद्याज्ञा कायम रहेको वर्तमान अवस्थामा आम नागरिकलाई दैनिक रुपमा आवश्यक पर्ने खाद्य सामग्री तथा तरकारी खरिद बिक्रीका लागि बिहान बेलुका निश्चित समय तथा ठाउँ निर्धारण गरी सुरक्षित बिक्री वितरण गर्न आवश्यक सुरक्षा प्रबन्धसमेत मिलाउन अदालतले प्रदेश सरकारलाई भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV