३ भाद्र २०७७, बुधबार
  • प्रशान्त ठाकुर,

काठमाडौं, ३ भदौ । अन्ततः नेकपा एमाले नामको दल निर्वाचनमा आयोगमा औपचारिकरुपमा दर्ता भएको छ । निर्वाचन आयोगले एमालेलाई आज औपचारिकरुपमा दलको मान्यता दिदै दर्ता प्रमाणपत्र प्रदान गरेको छ ।

गत असार १४ गते दल दर्ताका लागि निवेदन दिएको नेकपा एमालेलाई सबै प्रक्रिया पूरा गरेपछि आज आयोगले दल दर्ताको प्रमाणपत्र दिएको हो ।

दल दर्ता प्रमाणपत्र बुझेपछि नवगठित एमाले पार्टीकी अध्यक्ष सन्ध्या तिवारीले अब दलको औपचारिक गतिविधि कोरोना संकट अन्त्य भएपछि आरम्भ गर्ने बताउनु भयो । न्यूज २४ संग कुरा गर्दै उहाँले जननेता मदन भण्डारीको सोंच र विचार बमोजिम नेकपा एमालेलाई अघि बढाउने बताउनुभयो ।

यसैगरी एमालेका महासचिव मनिषकुमार उपाध्यायले अहिले विश्व नै कोभिड १९ बाट आक्रान्त भएको वखत नेपाल पनि अछुतो नरहेकोले दलको तत्कालको कार्यक्रम कोरोनाबाट आम नेपालीलाई सचेत बनाउने रहेको बताउनुभयो ।

नवगठित एमालेको उपाध्यक्षमा भगवती खड्का, सचिवमा प्रदेश १ बाट अस्मिता सुनार, प्रदेश २ बाट दावा लामा, प्रदेश ३ बाट जयराम राउत , प्रदेश ४ बाट खगेन्द्रप्रसाद भुषाल, प्रदेश ५ बाट राधा पुरी, प्रदेश ६ बाट हिराबहादुर बोहरा र प्रदेश ७ बाट ताराबहादुर शाही रहनु भएको छ ।

यस्तै गरी सदस्यहरुमा पवन विष्ट, निलम पोखरेल, किरण लामिछाने, उमेश महतो, उषाकुमारी झा, प्रदीपराज गिरी, पूर्णिमा तामाङ, निश्चल बस्नेत, सञ्जीव विष्ट, विनिता कार्की, विमला विष्ट, आंकाला भेटवाल र जयराम विष्ट रहनु भएको छ ।

तस्वीर : रिया भण्डारी

प्रतिक्रिया दिनुहोस्

LIVE TV