३ भाद्र २०७७, बुधबार

काठमाडौँ, २ भदौ । नेपाली कांग्रेसले राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति दुःख व्यक्त गरेको छ । मंगलबार साँझ १०१ वर्षको उमेरमा राष्ट्रकवि घिमिरेको निधन भएको थियो ।

बुधबार कांग्रेसले शोक वक्तव्य निकालेर घिमिरेको निधनप्रति दुःख व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना र शोक सन्तप्त परिवारजनप्रति समवेदन प्रकट गरेको छ ।

कांग्रेसले जारी गरेको शोक वक्तव्य

नेपाली साहित्यका एक अथक साधक राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा भाद्र २ गते भएको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । राष्ट्रकविले नेपाली साहित्यको क्षेत्रमा थुप्रै अमर कृतिहरु छाडेर जानु भएको छ । उहाँको निधनबाट राष्ट्रले साहित्य क्षेत्रको एक धरोहरलाई गुमाउनुका साथै यो क्षेत्रमा अपूरणीय क्षति पुगेको छ ।

उहाँको निधनमा नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । साथै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै उहाँका सबै शोक सन्तप्त परिवारमा नेपाली कांग्रेस हार्दिक समवेदना प्रकट गर्दछ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रकवि माघवप्रसाद घिमिरेकोे निधनमा गहिरो दुःख व्यक्त गर्दै भन्नु भएको छ —

“नेपाली साहित्यका एक सम्मानित व्यक्तित्व राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनको खबरले मलाई स्तब्ध र मर्माहत बनाएको छ । साहित्यिक कृतिको क्षेत्रमा रहेर, यसको श्रीवृद्धिमा उहाँले पु¥याउनु भएको योगदानलाई कसैले पनि विर्सन सक्दैन । उहाँले नेपाली साहित्यका माध्यमहरुबाट समाज परिवर्तनमा खेलेको भूमिका चिरकालसम्म अमर रहनेछ । उहाँको निधनसँगै नेपाली साहित्यको एउटा कालखण्डले पनि विदाई लिएको छ । उहाँको निधनबाट राष्ट्रले एक कुशल साहित्यकारलाई गुमाउनु परेको छ । राष्ट्रको निमित्त यो एक अपूरणीय क्षति हो । यस दुःखद घडीमा म राष्ट्रकविप्रति हृदयदेखि नै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । आत्माको चिरशान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारमा नेपाली कांग्रेस पार्टी र मेरो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गर्दछु ।”

कृष्णप्रसाद पौडेल
मुख्य सचिव

प्रतिक्रिया दिनुहोस्

LIVE TV