३ भाद्र २०७७, बुधबार
  • घनश्याम मिश्र

जनकपुरधाम, ३ भदौ । यतिबेला सरकार र समाज दुबै कोरोना संक्रमणसंग उन्मुक्तिको लागि आ आफ्नो स्तरबाट जुटि रहेको छ । मुलुकभर कोरोना महामारीले स्थिति त्राहिमाम सिर्जना भएको छ। सरकारी तथ्यांक र स्वास्थ्य तथा जनसंख्या मंत्रलायको कुरा मान्ने हो भन्ने सात प्रदेश मध्ये प्रदेस नंबर २ कोरोना संक्रमणको उच्च जोखिममा रहेको प्रस्ट छ । कोरोना संक्रमणसंगको लडाईमा प्रदेश २ सरकारको भूमिका माथि थुप्रै प्रश्नहरु उठिरहेको बेलामा सरकार भन्दा एक कदम अगाडि समाज देखिएको छ ।

धनुषामा यति बेला दुइ समूहले कोरोना महामारीको बेला आम सर्वसाधाणको स्वास्थ्य अवस्थालाई ध्यान दिएर काम थालेको छ । क्लोथ बैंक धनुषा र स्कूल अफ डेमोक्रेसीले बढ्दै गएको कोरोना भाइरस (कोभिड–१९) महामारीलाई मध्यनजर गर्दै संक्रमित भएका गरिब तथा अति विपन्न वर्गका लागि चिकित्सकीय परामर्श, निःशुल्करुपमा अक्सिजन सिलिण्डर व्यवस्थापन, रगतको व्यवस्थापन र एम्बुलेन्स सेवा समेत दिन अभियान नै संचालन गरेको छ । क्लोथ बैंक धनुषाले त होम आइसोलेसन अभियान नै सुरुवात गरि सकेको छ।

स्कूल अफ डेमोक्रेसीले कोभिड १९ क्विक रेस्पोन्स टिम सञ्चालन गरेर सेवाप्रवाह गर्न १९ सदस्यको समूह गठन गरेर सेवा गर्न थालेका छन् । यस्तो विषम परिस्थितिमा सरकारको मुख मात्र हेरेर हुँदैन क्विक रेस्पोन्स टिमका एक सदस्य मैथिली विकास कोशका अध्यक्ष समेत रहेका जिबनाथ चौधरीले न्यूज २४ लाई भने, विपदको समयमा एक अर्कालाई सहयोग गर्नु नै सामाजिक दायित्व हो ।

सरकारले यतिबेला पीसीआर टेस्ट गर्न नै सकेको छैन चौधरीले भने, अब हामी हाम्रो सुरक्षाको लागि एक अर्कालाई सहयोग गर्दै अगाडि बढ़नुको विकल्प नै छैन । स्कूल अफ डेमोक्रेसीले कोभिड १९ क्विक रेस्पोन्स टिमले भदौ २ गते देखी अबश्यक्ता अनुसार रगत उपलब्ध गराउनुको साथै विरामीको लागि एम्बुलेन्स सेवा तत्काल उपलब्ध गराउने र समुह बनाएर डाक्टरहरुद्वारा निशुल्क परामर्श दिन सुरु गरेको युवा नेता राकेश विक्रम साहले न्यूज जानकारी दिए ।

 

यता हप्ता दिन पूर्व देखी नै क्लोथ बैंक धनुषाले बढ्दै गएको कोरोना भाइरस (कोभिड–१९) महामारीलाई मध्यनजर गर्दै संक्रमित भएका गरिब तथा अति विपन्न वर्गका लागि निःशुल्करुपमा घरमै अक्सिजन सिलिण्डर व्यवस्थापन र अन्य चिकित्सकीय परामर्शका लागि क्लोथ बैंक धनुषाले होम आइसोलेसन अभियान शरुवात गरि सकेको छ। बैंकले जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुखको निगरानीमा यो कार्यक्रम सञ्चालन भइरहेको छ । क्लोथ बैंकले हाल होम आइसोलेसनमा रहेका तीन दर्जन बढी संक्रमित र विरामीहरुलाई निरन्तर परामर्श दिदै आएका छन् ।

क्लोथ बैंक धनुषाका संयोजन राजीव झाका अनुसार आफूहरुले अक्सिजनका लागि सिलिण्डरको व्यवस्था समेत गरेको छ । झाका अनुसार सघन ऊपचारको लागि आईसीयू सेवा समेत सुरु गर्न लागेको स्पस्ट पारे । बिभिन्न क्षेत्रका पचास भन्दा बढी विशेषज्ञ डाक्टरको समूहले विरामी हेरेर परामर्श समेत दिने गरेको बताए ।

धनुषाको एक मात्र ठुलो जनकपुर प्रादेशिक अस्पताल सहीत अन्य विभिन्न निजी अस्पतालहरुमा कोरोनाका विरामीका लागि राखिएको बेडहरु भर्दै गएको छ । एता समुदायस्तरमा कोरोना प्रवेश गर्दै गरेको बेला समाजकै व्यक्तिहरुले गरेको यो प्रयासको प्रशंसा समेत भइरहेको छ ।

केही दिनपछि जनकपुरका अस्पतालहरुमा बेडहरु पाइने छैन । त्यसपछि उपचारको अभावमा कसैको पनि ज्यान नजाओस् भन्ने उद्देश्यले यो अभियाहरु सुरु गरिएको जनाइएको छ।

प्रदेश २ को वर्तमान अवस्था 

मंगलबार मात्र प्रदेश २ मा ३ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्सामा १ सय २४, बारामा ५९ जना, धनुषामा ५४ जना, रौतहटमा ४४ जना, सप्तरीमा १४ जना, महोत्तरी र सिरहामा १३र१३ जना र सर्लाहीमा ३ जना व्यक्ति संक्रमित भएका छन् । योसँगै यस प्रदेशमा संक्रमितको संख्या ७ हजार ५ सय पुगेको छ । संक्रमितमध्ये ६ हजार ५ सय २३ पुरुष र ९ सय ७७ जना महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।

रिपोर्टको अवस्था 

प्रदेशभरीमा मंगलबारसम्म सप्तरीमा ११ हजार ९ सय ४७, सिरहामा ५ हजार ८ सय ४७, धनुषामा ९ हजार १ सय ४, महोत्तरीमा ५ हजार २ सय ७७, सर्लाहीमा ९ हजार ६ सय ३१, रौतहटमा १८ हजार ३ सय ३७, बारामा ६ हजार ६ सय २७ र पर्सामा १५ हजार ९ सय ५९ जना गरि जम्मा ८२ हजार ७ सय २९ जनाको स्वाब परिक्षण गरिएकोमा ७ हजार ५ सय जना संक्रमित भएका छन् भने ६६ हजार ४ सय ५० जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

क्वारेन्टाइन र आइसोलेसन

प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाउँहरुमा निर्माण गरिएको १३ हजार ७ सय ४८ बेड क्षमताको २ सय १७ वटा क्वारेन्टाइनमा अहिले १ हजार ५ सय ३ जनालाई राखिएको छ भने २ हजार २ सय ५३ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ । प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको २ हजार ९ सय ६ बेड क्षमताको आईसोलेशनमा सप्तरीमा २ सय १९, सिरहामा ५५, धनुषामा १ सय ९, महोत्तरीमा २९, सर्लाहीमा १ सय ९६, रौतहटमा ३९, बारामा ६४ र पर्सामा ४ सय ७ जना गरि १ हजार १ सय १८ जनालाई भर्ना गरिएको छ ।

प्रदेश भित्र कहाँ छन बढी संक्रमित ?

प्रदेश २ मा सबैभन्दा बढी रौतहट जिल्लामा १ हजार ४ सय ६९ जना संक्रमित भएका छन् । पर्सामा १ हजार ४ सय ४८, धनुषामा १ हजार १ सय २५, महोत्तरीमा १ हजार ३६, सर्लाहीमा ९ सय ६७, सप्तरीमा ६ सय ८१, बारामा ४ सय ९४ र सिरहामा २ सय ८० जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कुन जिल्ला कति मृत्यु 

प्रदेश २ मा हालसम्म पर्सामा २१, धनुषामा ९, बारामा ६, सप्तरीमा ३, रौतहटमा ३, सिरहामा २, महोत्तरीमा २ र सर्लाहीमा १ जना गरि ४७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV