३ भाद्र २०७७, बुधबार
  • अञ्जु पोखरेल

हरेक वर्ष भदौ महिनामा पर्ने कुशे औँसीको दिनलाई बुवाको मुख हेर्ने दिन भनेर मनाउने प्रचलन छ । बुढापाकाहरू भन्ने गर्छन्– मातातीर्थ औँसीलाई पहिलेदेखि नै मान्दै आए तापनि बुवाको मुख हेर्ने चलनको सुरुवात भएको खासै धेरै भएको छैन । बुवाआमा दुबै एकसमान भएकाले किन आमालाई मात्रै मान्ने ? बुवालाई नि मान्नुपर्छ भन्ने सोचले कुशे औँसीलाई बुवाको मुख हेर्ने दिनको रुपमा मनाउन थालेको हुनसक्छ ।

नेपाली (हिन्दू) समाजमा कुशलाई पुजापाठ गर्ने बेलामा प्रयोग गरिन्छ । वृन्दाले भगवान् विष्णुलाई श्राप दिएपछि श्रापमुक्त हुन विष्णुले ४ रुप धारण गरेका थिए । (तुलसी, कुश, शालिग्राम र पीपल) यही कुशे औँसीको दिनलाई बुवाको मुख हेर्ने दिन भनेर मनाउन थालिएको हो ।

‘बुवा : आमाले चिनाएको पुरुष’

हुनत आमाको जति चर्चा–परिचर्चा बुवाबारे भएको पाइन्न । बुवाको बारे प्रसङ्ग कमै मात्र मा आउने गर्दछन् । बीपी कोइरालाको उपन्यास आमाबुवा र छोरामा भनिएको छ– ‘बुवा भनेको आमाले चिनाएको पुरुष हो ।’ विवाहबाट परिवरको स्थापना हुनपुग्यो, साथै नाता सम्बन्धको सुरुवात भयो । त्यही सम्बन्धबाट आमाले चिनाएको पुरुषलाई हामीले बुवा भनेर सम्बोधन गर्न थाल्यौं, आजसम्म गरिरहेकै छौँ ।

आमाले जसरी १० महिनासम्म अनेकौं दुःख–कष्ट सहेर गर्भमा हुर्काउछिन् र यस धर्तीमा आगमन गराउछिन्, त्यसपछि बुवाको सन्तानप्रतिको जिम्मेवारी उसैगरी बढेर जान्छ । यसरी जन्मजात गाँसिएको बुवासँगको हाम्रो सम्बन्ध मृत्युपर्यन्त जीवित रहन्छ ।

बुवाको मुख हेर्ने दिन धुमधामसँग मनाइन्छ । टाढा भएका छोराछोरीहरू सम्भव भएसम्म घरमै जम्मा भएर मीठो–मसिनो बनाएर खाने–खुवाउने र रमाइलो गर्ने गर्दछन् । यसो गर्नाले सम्बन्धहरू अझै मजबुत भएर जान्छन् । धेरैले परिवारसँग एक दिन भए पनि समय बिताउने बहाना पाउँछन् । परिवारसँग साथै बस्नेको लागि होस् या बाहिर बस्नेको लागि, यो दिन सबैको लागि विशेष हुनेगर्छ ।

स्तब्ध बनाएको त्यो क्षण

बुबाको मुख हेर्ने दिन नजिकिँदै गर्दा मलाई भने धेरै कुराले असाध्यै उकुसमुकुस बनाइरहन्छ । हुनत यी कुरा पढिरहँदा झिनामसिना लाग्न सक्छन्, तपाईंलाई । धेरै कुरा देख्दा सामान्य लागे तापनि तिनको जटिलता बुझ्ने कोशिस गर्नुपर्छ ।

दुई वर्षअघिको कुरा हो । बुवाकै मुख हेर्ने दिन थियो, उठेर ड्याडीलाई फोनबाट नै शुभकामना दिएँ । घरबाहिर बस्ने भएकाले धेरैजसो यो समयमा म परिवारबाट टाढा नै रहन्थेँ । कुराकानी सकेर फोन राखेपछि आँखा मिच्दै फेसबुक खोल्नतिर लागेँ ।

बुवाको मुख हेर्ने दिन परेकाले सबैले फेसबुकको वालभरि आफ्ना बुवासँगका रङ्गीबिरङ्गी तस्बिर राख्न भ्याइसकेका थिए । तिनैमध्ये मेरा आँखा एउटा पोस्टमा गएर अडिए, सेतो कागजको पानामा नीलो रङको मसीले पोतिएका सुन्दर अक्षरहरूले लेखिएका शब्दहरू थिए–

प्रिय बुवा ! पहिलोपटक मेरा पाईलाहरू चल्न थालेपछि आमाको भन्दा पहिले मैले तपाईंका औंला समातेकी थिएँ रे, आमा सुनाउनुहुन्छ । तपाईंले मलाई खुब माया गर्नुहुन्थ्यो रे । म कति अभागी ! जब बुवा भनेर चिन्ने–बुझ्ने अनि खोज्ने भएँ, त्यो बेलादेखि तपाईंलाई यही फोटोमा मात्रै देख्ने गरेकी छु । कहिलेकाहीँ छोरी भनेर बोलाइदिएसम्म हुन्थ्यो जस्तो लाग्छ । फेरि मेरा औंला समातेर हिँड्न सिकाए हुन्थ्यो जस्तो लाग्छ । धेरै कुराले सम्पन्न भए पनि तपाईंको अभाव कोही कसैले पूरा गर्न सकेनन् । तपाईबिनाको जिन्दगी बाँचेको यतिका वर्ष भो, न तपाईंको याद आउन छोड्यो न अभाव महसुस नै हुन छोड्यो । अझ आज त बुवाको मुख हेर्ने दिन, आँखा खोलेदेखि तपाईंको तस्बिर हेरेर टोलाइरहेछु । आँसुभन्दा अरु उपहार दिन सकिनँ । तर पनि बुवाको मुख हेर्ने दिनको शुभकामना… !!

म स्तब्ध भएँ एकछिन त । लाग्यो, यत्तिकै लेखेको हो कि भनेर । तर १–२ जनालाई सोधेपछि थाहा पाएँ, उहाँको बुवा उहाँ ५ वर्षको हुँदानहुँदै बित्नुभएछ । हाम्रो राम्रो चिनजान भए तापनि परिवारको बारेमा कहिले कुरा भएको थिएन । त्यो पढिसकेपछि लाग्यो, परिवारको कुरा नसोधेर ठिकै गरेछु । त्यो दिन दिनैभरि खल्लो लागिरह्यो ।

यसरी बाआमाको अभावमा बाँच्नेहरू कति होलान्, उनीहरूको पीडा, आँसु, अभाव धेरै कुरा आए आँखामा । मैले मेरा बुढा भएका हजुरबुबा सम्झेँ, बुवा सम्झेँ । परिवारमा बुवाआमामध्ये कोही एकको अभावमा जिन्दगी कस्तो हुँदोरहेछ भन्ने कुरा शब्दबाट नै महसुस गरेँ ।

कैयौँलाई रुवाउने कुशे औँसी

हरेक वर्षको कुशे औँसीले कतिलाई रुआएर जाँदोरहेछ ! कोही बा नहुनुको पीडामा रुन्छन् त कोही छोराछोरी टाढा हुनुको पीडामा । समाजमा धेरै छोराछोरी छन्, जो बुवाआमा नहुनुको अभावमा छटपटाइरहेछन् । अर्कोतिर बुवाआमाको माया धेरै भएर बुवाआमाको कदर नगर्ने छोराछोरी पनि उत्तिकै छन् ।

एउटा सामान्य परिवारको बुवाले गिटि कुटेर होस् या खेत जोतेर, सन्तानको भविष्यको निम्ति आफ्ना कैयौं दुःखहरू लुकाएर एकजोर कपडा नफेरेर दुःख गरेका हुन्छन् । सन्तानको भभिष्य उज्ज्वल बनोस् भनेर उनीहरूका रहर अनि खुशी कैयौंपटक आहुति दिएका हुन्छन् ।

परिवार चाहे सामान्य, मध्यम या सम्पन्न जस्तो भए पनि सन्तानकै लागि दुःख गर्ने गर्दछन् । बाआमाले कुनै स्वार्थबिना नै सन्तानको खुसीको लागि पूरै जिन्दगी व्यतीत गरेका हुन्छन् । स्वार्थ हुन्छ त यति मात्रै– छोराछोरी सफल बनुन्, नाम कमाउन् र बुढेसकालमा सहारा बनुन् । के हामीले उहाँहरूले गरेको त्यागको लेखाजोखा राखेका छौँ कहिल्यै ?

नेपालीमा एउटा उखान रहेको छ– ‘आमाबाबुको मन छोराछोरीमाथि छोराछोरीको मन ढुङ्गामुडामाथि’ । अहिलेको परिवेशमा यो उखान नरहेर वास्तविकता हुन पुगेको छ । हामी कतिसम्म विलासी जीवन बाँचिरहेछौँ र यहाँसम्म आइपुग्न कसले बाटो देखायो, कसले हामीलाई पढायो, हुर्कायो भनेर हामी सोच्दैनौँ । त्यति मात्रै कहाँ हो र, पढाइको सिलसिलामा विभिन्न देशमा गएर उतैतिर बसोबास गर्नेको संख्या बढ्न थालेको छ । हामी यतिसम्म व्यस्त छौँ कि शहर बस्ने छोराछोरीले आफ्ना बाआमालाई एक कल फोन गरेर सञ्चो–बिसञ्चोसम्म सोध्दैनौँ । यो त टाढाको कुरा भो, धेरै बाआमाको गुनासो छ– एउटै घरमा बस्ने छोराबुहारीले समेत साह्रोगाह्रो, सञ्चो–बिसञ्चो सोधपुछ गर्दैनन् । के सन्तानको दायित्व यही हो ?

बच्चा बेलामा केही नया कुरा सिके–जानेपछि हामी बुवाआमालाई देखाउँछौँ– हाम्रो मेहेनत देखेर उहाँहरू कति खुशी बन्नुहुन्छ । त्यो खुशी हिजोआज बुवाआमाको अनुहारमा कमै देख्न पाइन्छ । यसको मतलब, सबै छोराछोरी एकैनासका हुन्छन् भन्ने हुँदैन । समाजमा धेरै उदाहरण बनेका परिवारहरू पनि छन् । ती सङ्गै हामी धेरै कुरा देख्छौँ, सुन्छौँ, पढ्छौँ पनि । ७० वर्षका वृद्ध जीवनयापन गर्न गिटी कुट्दै, बुहारीले सासूलाई गरेको दु–व्र्यवहार, हुँदाहँुदै घरमा समय दिन सकिन्न भनेर वृद्धाश्रममा पठाएका घटनाले मनै चिसो बनाउछ । पैतृक सम्पत्ति नभए बुवाआमालाई नहेर्नेजस्ता घटना समाजमा कैयौं छन् । बस्, हामी जानेर पनि अन्जान छौं ।

अहिले त बिभिन्न्न संघ–संस्थाले वृद्धाश्रम खोलेर उहाँहरूको सेवा गरिरहेका छन् । धेरै बाआमाको गुनासो सुनिन्छ– सन्तान जन्माइयो, हुर्काईयो, पढाइयो, बुढेसकालमा उनीहरूको साथ पाइएला भनेर । तर आज बेसहारा बन्नुपरेको छ । के हाम्रा बाआमाले सिकाएको संस्कार दिएको शिक्षा, पालनपोषण गरेर हुर्काएको अनि हामीलाई सक्षम बनाएबापत हामीले निभाउने कर्तव्य यहीं हो त ?

हामी जन्मिएदेखि हाम्रा आवश्यकता, रहर, हरेक कुरालाई कहिले बोझ नमानी पूरा गरिदिने बाआमालाई सन्तानले बुढेसकालमा किन बोझ ठान्छन् हँ ?

सन्तानको के कति ?

परिवारको साथ र सुखमा बाँचेका बाआमालाई ती कुराले खासै फरक पर्दैन तर छोराछोरी भएर पनि एक्लो जिन्दगी बिताइरहेकाहरुको पीडा कस्ले बुझ्ने ? अनि अर्कोतर्फ बाआमामध्ये कोही एकको अभावमा बाआमा भैदिए हुन्थ्यो भन्ने सन्तानहरूको पीडा छुट्टै छ । हुनत सबैसँग सोचेको कुरा हुँदैन तर साथमा भएकाको महत्त्व बुझ्न सकिएन भने उहाँहरूले दिएको यो सुन्दर जिन्दगीको अर्थ नै के रहयो र ?

एक दिन बुवाको मुख हेर्ने भनेर आश्रममा राखेका बुवालाई एकजोर कपडा र मिठाई लगेर खुवाउँदै गरेको फोटो सामाजिक सञ्जालमा राखेपछि मुख हेरिएको हुन्छ र ? के सन्तानको कर्तव्य त्यतिमै सकियो ? कयौं बाआमा मन्दिरको पेटीमा भेटिन्छन् । घर–परिवार बाट हेलित भएका छन् । सन्तानबाट अलगिएर एक्लै बसेका छन् । आफ्नो मेहेनतले कमाएको सम्पत्ति सन्तानको पढाइ अनि उसलाई विदेश पठाउनकै लागि लालपुर्जा धितो राख्न समेत पछि नहट्ने बाआमालाई छोराहरूले बेवास्ता गर्नु कतिसम्म उचित हो ?

धन्न, वर्षमा एक दिन कुशे आँैसी आउँछ र बा पनि छन् भन्ने सम्झना गराउछ । एकै दिन भए पनि समय निकालेर मुख हेर्ने बहाना मिल्छ, एकै दिन भए पनि बाआमाले सन्तुष्टिको सास फेर्छन् । साथ पाउँछन् ।

एक दिनले पुग्दैन, सधैँ सम्मान

एक दिन छोराछोरी बिरामी हुँदा रातैभर छटपटाउने तिनै बाआमा बिरामी हुँदा भने छोराछोरीसँग पानी तताएर दिने फुर्सद हुँदैन । बा आमाको लागि एक दिन सम्मान देखाएर मात्रै पुग्दैन । जबसम्म उहाँहरूको सन्तानप्रतिको त्याग समर्पणलाई मनन गरेर उहाँहरूले देखाएको बाटो हिँड्न सकिँदैन, तबसम्म असल सन्तान भन्न सुहाउँदैन । तसर्थ क्षणिक खुशी दिएर हैन, बाआमालाई सधैँ सम्मान र खुशी दिएर राख्नुपर्छ ।

जसरी गणेश भगवानले आफ्ना मातापितालाई नै सर्वश्रेष्ठ मानेर पूजा गरेका थिए, त्यही सम्मान र सद्भाव हामीले पनि राख्नुपर्छ । यसको मतलब, पूजा नै गर्नुपर्छ भन्ने हैन, व्यवहार असल हुनपर्यो, सम्मान र खुसी दिनुपर्यो । आधुनिक हुने बहानामा बाआमालाई नै हेला गर्न त भएन नि । परिवारले सिकाएको संस्कार र नैतिकता पनि व्यवहारमा लागू गर्नुपर्छ ।

यसपटकको कुशे औँसीमा कोही बुवाहरू घरबारविहीन नहुन्, मन्दिरको पेटीमा नभेटिउन्, वृद्धाश्रममा आँसु नखसालुन् । स्वास्थ रहुन्, खुशी रहुन् । परिवारको साथमा रहुन्, सन्तानबाट हेला हैन सम्मान र स्नेह पाउन् । सम्पुर्ण बुवाहरूमा कुशे औँसी वा बुवाको मुख हेर्ने दिनको शुभकामनासहित हार्दिक नमन ‼

[लेखिका स्नातकोत्तर तेस्रो सेमेस्टर (समाजशास्त्र) माअध्ययनरत छिन्]

प्रतिक्रिया दिनुहोस्

LIVE TV