२ भाद्र २०७७, मंगलवार

काठमाडौं, २ साउन । केटाकेटीदेखि वृद्धवृद्धाका ओठमा सुहाउने भाषाको कला पोख्थे उनी । हेरिरहु जस्ता गीति नाटक कथ्थे उनी, जति सुने पनि सुनिरहु जस्तो गीत कोर्थे उनी ।

शब्दहरुको शिल्पी र शैलीका यिनै महान अक्षरबाज अर्थात राष्ट्रकवि माधवप्रसाद घिमिरे त्यही नमेटिने गरी लेखेको अक्षरहरुको नासो आम नेपाली र संसारभरका नेपाली भाषीलाई पस्केर सधैका लागि विदा भएका छन् ।

लमजुङको उनको जन्म भूमि मात्र होइन नेपाली भाषाको साहित्यमा धेरै विषय उनीमार्फत त्यही लमजुङले दिन सफल भएको छ । त्यही लमजुङको धर्तीलाई मलिलो, रसिलो र भरिलो बनाएर बग्ने मस्याङ्दी नदी सुसाइरहेको होला यतिबेला, जुनबेला उनले त्यही मर्स्याङ्दीलाई माध्यम बनाएर नेपाली साहित्यलाई धेरै मलिलो बनाए उनले ।

तर किन हो उनले कथे झै भएको छ आजको साँझ ‘आजै र राति के देखे सपना मै मरिगएको , मस्र्याङ्दी नदी नरमाइलो सुसाइरहेको ।’

मुनामदन पछि नेपाली साहित्यमा सबभन्दा बढी रुचाइएको अर्को पुस्तक र गीति नाटक बन्यो–मालती मंगले । जुन नाटक नेपालमा सबैभन्दा बढी र लामो समय मञ्चन भएको नाटकको कीर्तिमान स्थापित गर्यो ।

यस अलावा उनको शोककाव्य गौरी नेपाली साहित्य संसारमा सबभन्दा बढी रुचाइएको कृति बन्न पुग्यो । आफ्नी जेठी धर्मपत्नीको वियोगमा लेखेको गौरीको गाथा नेपाली साहित्यमा पक्कै पनि अम्मर भएर रहने छ ।

‘गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली , जय जय जय नेपाल सुन्दर शान्त विशाल’, यो गीत कुन नेपाली बालबालिकाको मुखारविन्दमा कन्ठ नहोला र रु यस्तै शब्दको मायाजाल पेश गर्ने उनै राष्ट्रकवि अब कहिल्यै नफर्कने गरी इहलोक प्रस्थान गरेका छन् ।

राष्ट्रकवि घिमिरेका चर्चित कृतिहरु :

  • नव मञ्जरी
  • गौरी (शोककाव्य)
  • मालती मङ्गले (गीतिनाटक)
  • हिमालपारि हिमालवारि (गीतिनाटक)
  • राजेश्वरी
  • इन्द्रकुमारी
  • राष्ट्रनिर्माता
  • किन्नर–किन्नरी (गीतसङ्ग्रह)
  • चारु चर्चा (निबन्ध)
  • आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध)

स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि एवं गीतकार मानिन्थे राष्ट्रकवि घिमिरे । नजिकबाट चिन्ने मात्र नभइ उनलाई पढ्नेहरुले पनि घिमिरेलाई प्रकृतिका अनेकन विविध पक्षहरुलाई आफ्ना जीवन्त रचनाहरुमा समावेश गर्दै जीवनलाई नै प्रकृतिसापेक्ष ढङगबाट व्याख्या गर्ने खुबी भएका साधक मान्छन् ।

पछि उनको योगदानको कदर गर्दै उनलाई शताब्दी पुरुषकोरुपमा पनि सम्मानित गरिएको थियो । वि.सं. १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा जन्मिएका भएका घिमिरेले तीन वर्षमा उमेरमा मातृवियोगको पीडा भोग्नु परेको थियो ।

६ वर्ष हुँदा अक्षर चिन्नु भएका उहाँले ८–९ वर्षको हुँदा गाउँको फुलेबाबासँग पञ्चांग अध्ययन गरी ११ वर्षको उमेरमा घर छाडेर दुराडाँडा (लमजुङ) गाउँको संस्कृत पाठशाला हुँदै काठमाडौंको रानीपोखरीमा रहेको संस्कृत प्रधान पाठशाला र तीनधारा संस्कृत पाठशालाबाट प्रथमा उत्तीर्ण गरेका थिए ।

घिमिरेले भारतमा बनारसस्थित क्विन्स विश्वविद्यालयबाट सर्वदर्शनमा शास्त्री गरेका थिए । नेपाली साहित्य र संगीत क्षेत्रको भण्डारलाई महाकवि लक्ष्मीप्रसाद देवकोटा पछि ठूलो योगदान दिएको मानिएका घिमिरेलाई आम नेपालीले कहिल्यै विसर्न सक्ने छैनन् ।

उनको निधनले सिंगो मुलुक सन्तप्त हुँदा आम नेपाली शोकमा छन् । शताब्दी पुरुष एवं राष्ट्रकवि घिमिरेप्रति न्यूज २४ परिवारको भावपूर्ण श्रद्धाञ्जली ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV