
- बाल बिक्रम कार्की
रौतहट, २ भदौ । रौतहटमा एक युवाले आफ्नी आमाको स्मृतिमा ४ हजार विरुवा रोपेका छन् । जिल्लाको गरुडा नगरपालिका वडा ६ निवासी देवेन्द्र कुमार चौधरीले आफ्नी मृत आमा स्वर्गीय रधिया देवीको सम्झना वृक्षारोपण गरेका हुन् ।
चन्द्रपुर नगरपालिका वडा नम्बर २ मा रहेको हरियाली सामुदायिक वनको २ नम्बर व्लगको खाली स्थानमा उनले वृक्षारोपन गरेका हुन् । उनको सो अभियानलाई वनका पदाधिकारीहरु, स्थानियले पनि साथ दिएर वृक्षारोपणमा सहभागी भएका थिए । सो क्रममा मलेसियन साल तथा जमुनाका विरुवाहरु रोपिएका छन् ।
दुई महिना अगाडि मृत्यु हुनुभएकि आमाको लागि केही राम्रो र फरक काम गरु भन्ने सोचका कारण वृक्षारोपण गरेको चौधरीको भनाइ छ । उनी चन्द्रपुर नगरपालिका वडा नम्बर ४ मा देव एग्रिकल्चर प्रा।लि। का संचालक समेत रहेका छन् ।
‘खाली स्थानमा रुख रोप्दा हरियाली हुनुका साथै पर्यावरणको संरक्षण पनि हुन्छ’ उनले भने, समयसँगै हुर्कने रुखहरुले आमाका यादहरुलाई अमर बनाइदिन्छ ।’ उनले आफ्नी आमालाई प्रकृति, वनजंगल र वन्यजन्तुप्रति लगाव भएकाले पनि आफुले आमाको सम्झनामा वृक्षारोपण गर्ने सोच बनाएको बताउँदै जिल्लाका अन्य सामुदायिक वनहरुमा पनि यसरीनै रुखहरु रोप्दै जाने योजना रहेको सुनाए । उनको यो योजनामा उनका बुबा नथुनी प्रसाद चौधरीले पनि साथ दिइरहेका छन् ।
यसरी मानिसहरुले आफ्ना मृतक आफन्तको सम्झनामा वृक्षारोपन गर्ने योजना ल्याए वनपनि संरक्षण हुने र आफन्तको स्मृति रुखसँगै सयौँ वर्षसम्म पनि रहिरहने हरियाली सामुदायिक वनका अध्यक्ष धन बहादुर प्रसाइको भनाइ छ । साल र जमुना जस्ता सयौँ वर्षसम्म बाँचिरहने रुखहरुले पर्यावरण सन्तुलन राख्नुका साथै वन्यजन्तु संरक्षणमा पनि ठुलो भूमिका खेल्ने उनी बताउँछन् ।