
काठमाडौँ, २ भदौ । सरकारले कोरोना संक्रमणको जोखिम रहेका क्षेत्रमा निषेधाज्ञा गर्ने र कर्फ्यू लगाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को निर्णयले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितिले कोरोना संक्रमणको जोखिमको अवस्था हरेर निषेधाज्ञा वा कर्फ्यू लगाउने भन्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको हो ।
साथै, प्रमुख जिल्ला अधिकारीले जिल्लाका कुनै स्थानमा निषेधाज्ञा जारी गरेमा सम्बन्धित क्षेत्रका सरकारी र सार्वजनिक कार्यालयका निश्चित कर्मचारीलाई कार्यालयमा उपस्थित गराउने तथा आवश्यकता हेरी कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्थापन सम्बन्धित कार्यालय प्रमुखले गर्नुपर्ने पनि जनाइएको छ ।
सरकारले जारी गरेको निर्देशन, स्वास्थ्य मन्त्रालयले जारी गरेका मापदण्डहरू पालना गर्न सबैलाई आग्रह गर्दै पालना नगरेको खण्डमा कारबाही गर्न गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई निर्देशनसमेत दिएको छ ।