२ भाद्र २०७७, मंगलवार
  • बाल बिक्रम कार्की,

रौतहट, २ भदौ । रौतहटमा समुदायस्तरमा कोरोना संक्रमण देखिने क्रम बढ्दो छ । जिल्ला जनस्वाथ्य कार्यालयका अनुसार मंगलबार दिउँसोसम्म जिल्लामा ३६ जनामा संक्रमण पुष्टि भएको छ ।

जसमध्ये सबैभन्दा बढी गौर नगरपालिकाका २१ जना रहेका छन् । गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ताका अनुसार संक्रमण पुष्टि भएका २१ जनामध्ये अधिकांश यसअघि संक्रमण पुष्टि भएकाहरुको कन्ट्याक ट्रेसिङ्गमा परेकाहरु रहेका छन् ।

उनका अनुसार १ सय ४९ जनाको स्वाव संकलन गरेर पठाइएकोमा आज आएको रिपोर्टमा यसअघि संक्रमण पुष्टि भएकाहरुको परिवारका सदस्यहरु र उनीहरुको निकै नजिकको कन्ट्याकमा रहेकाहरुमा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी आजै माधवनारायण नगरपालिकामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सो नगरपालिकाका स्वास्थ्य संयोजक प्रमोद साहका अनुसार यसअघि संक्रमण पुष्टि भएका गरुडा नगरपालिकाका एकजना स्वास्थ्यकर्मीको कन्ट्याक ट्रेसिङ्ग अन्र्तगत ६३ जनाको स्वाव संकलन गरेर पठाइएको थियो, जसमध्ये ५ जनामा पोजेटिभ देखिएको छ, भने ६ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

साहका अनुसार सो नगरपालिकाको वडा नम्बर १ मा फार्मेसी खोलेर उपचार गर्दै आएका स्वास्थ्यकर्मीले उपचार गरेका ३ जना र एकजना उनकै घरबेटीमा संक्रमण देखिएको हो । यसैगरी अर्का एकजना संक्रमितले भने घरघरमा गएर स्थानीयलाई उपचार गर्ने गरेका साहले बताए ।

आज संक्रमण पुष्टि भएकाहरु सबैको कन्ट्याक ट्रेसिङ्ग सुरु गरिने र समुदायमा धेरै घुलमिल भएका व्यक्तिहरुमा संक्रमण देखिएकाले धेरैभन्दा धेरैको परीक्षण गर्नुपर्ने उनको भनाइ छ ।

समुदायमा संक्रमण देखिएको भन्दै स्थानीय प्रशासनले साउन २४ गतेदेखि ३२ गतेसम्मको लागि भनिएको निषेधाज्ञालाई भदौ ७ गतेसम्मलाई निरन्तरता दिएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले निषेधाज्ञा थप गरिएको अवधिमा नागरिकको सहजताको लागि भदौ १ गते, ३ गते र ५ गते बिहान ६ बजेदेखि ९ बजेसम्म सर्तसहित अत्यावश्यक खाद्यान्न पसल खोल्न निर्देशन दिएको छ ।

पसल र उपभोक्ताले अनिवार्य मास्क, सेनिटाइजर तथा पञ्जाको प्रयोग गर्नुपर्ने, भौतिक दूरी कायम गर्नुपर्ने पनि जिल्ला प्रशासन कार्यालयले भनेको छ ।

जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार मंगलबार दिउँसोसम्म जिल्लामा १ हजार ४६७ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा १ हजार ३३४ जना निको भएर घर फर्किसकेका छन् । हाल जिल्लाका विभिन्न क्वारेन्टाइनमा १ सय ४५ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV