२ भाद्र २०७७, मंगलवार
  • यामराज कटुवाल

दैलेख, २ भदौ ।  स्वास्थ्य सेवा कार्यालय दैलेखको प्रत्यक्ष निगरानीमा सञ्चालित दैलेखको आइसोलेसन अस्पताललाई सहयोग गरिएको छ । भवनमा पानी चुहिने, खानेपानी, शौचालय अभाव लगायतका थुप्रै समस्या झेलिरहेको आइसोलेसन अस्पताललाई सहयोग गरिएको हो ।

जिल्लाको नारायण नगरपालिका–८ तर्ताङ स्थित आइसोलेसन अस्पतालमा खुट्टाको सहयोगले धारा खोलेर हात धुन मिल्ने फुट अपरेटर धारा जडान गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै खुट्टाद्वारा खुल्ने धारा र त्यसमाथि ट्यांकी जडान गरिएको हाे । डिसीए नेपालको आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले उक्त प्रविधिको धारा जडान गरेको हो ।

संस्थाले आइसोलेसन अस्पतालमा ५५ वाटको सोलार समेत जडान गरेको छ । यस्तै इन्टरनेट जडान गरिएको संस्थाका उप–कार्यकारी निर्देशक बसन्त श्रेष्ठले जानकारी दिए । ३० एमबीपीएस क्षमताको इन्टरनेट जडान गरिएको श्रेष्ठले बताए । कोरोना संक्रमित भई आइसोलेसनमा उपचाररत बिरामीहरुलाई लक्षित गरेर धारा, सोलार र इन्टरनेट जडान गरिएकको उनले बताए । उनका अनुसार आइसोलेसन अस्पतालमा संस्थाले एक लाख २० हजार रुपैयाँ बराबरको सहयोग उपलब्ध गराएको हो ।

संस्थाले आइसोलेसन अस्पतालमा स्वास्थ्य तथा सरसफाईका सामग्री समेत उपलब्ध गराएको छ । एक सय थान सेनीटाइजर, २४ थान टाबेल, एक सय वटा एन नाइन्टी फाइभ मास्क, १५ वटा डस्बिन, २४ वटा झुल, पाँच वटा फिल्टर, आठ वटा थर्मस, तीन सय थान सर्जिकल मास्क, पाँच सय थान ग्लोब्स र २४ पोलर ब्लेन्केट प्रदान गरेको हो ।

संस्थाका कार्यवहाक अध्यक्ष टिकादेवी जैसीले स्वास्थ्य सेवा कार्यालय दैलेखको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोमन शर्मा, स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड–१९ फोकल पर्सन थीरप्रसाद रेग्मीलाई सामग्री हस्तान्तरण गरिन् ।

सामग्री हस्तान्तरणका अबसरमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शर्माले माहामारीको समयमा कोरोना अस्पताललाई अत्यावश्यक सामग्री उपलब्ध गराउने संस्थालाई धन्यवाद ज्ञापन गरे । उनले अस्पतालमा पर्याप्त पानीको व्यवस्थापन गरिने बताए ।

हाल उक्त आइसोलेसन अस्पतालमा १८ जना कोरोना संक्रमितहरु उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV