१ भाद्र २०७७, सोमबार
  • निमेन्द्र शाही

बाजुरा, १ भदौ । मदिरा सेवनका कारण हरेलु हिंसा र कुटपिटको घटना बढेपछि बाजुरामा स्थानीय सरकारले मदिरा सेवन गर्न नयाँ नियम ल्याएको छ । मदिरा सेवन गर्न अनुमति पत्र लिनु पर्ने र तोकिएको मात्रामा मात्र सेवन गर्न पाइने नियम लगाइएको छ । मदिरा सेवनमा लगाइएको नयाँ नियमले अहिले गाउँमा आपराधिक घटनामा कमी आएको छ ।

बाजुराको गौमूल गाउँपालिका क्षेत्रभित्र मदिरा सेवन गर्न इजाजत पत्र अनिवार्य गरिएको छ । मदिरा सेवन गर्न चाहनेले तीन पुस्ते विवरण पेश गरेर पाँच सय शुल्क तिरेपछि गाउँपालिकाले इजाजत पत्र दिने गरेको छ । त्यही इजाजत पत्र पेश गरेपछि मात्र मदिरा खरिद गर्न पाइन्छ । त्यो पनि मदिरा प्रेमी एक व्यक्तिले एक दिनमा एक सय ८० मिली लिटर मात्र मदिरा सेवन गर्न पाउने छन् ।

अनुमति पत्र लिएकाले पनि साँझ ६ देखि ९ बजेसम्म मात्र मदिरा सेवन गर्न पाउँछन् । गाउँपालिकाले बनाएको नियम उलंघन गरे पहिलो पटक २ र दोस्रो पटकबाट सात हजार जरिवाना तोकिएको छ । मदिरा विक्री गर्ने पसलले समेत ग्राहकको विवण अनिवार्य राख्नु पर्ने र गाउँपालिकामा पेश गर्नु पर्ने व्यवस्था गरिएको छ । मदिरा सेवनका कारण गाउँमा घरेलु हिंसाका घटना र झैझगडा बढेपछि गाउँपालिकाले यस्तो नियम लगाएको हो ।

अहिले हरेक पसलमा मदिरा राख्न थालेपछि गाउँपालिकाले नियमन गर्न थालेको हो । पहिला २ सय मदिरा पसलमा अहिले १० वटा पसललाई मात्र मदिरा विक्री गर्ने अनुमति दिइएको छ । गाउँपालिकाले यो नियम लागु गरेपछि मदिरा सेवनपछि हुने घरेलु हिंसा र आपराधिक घटनामा समेत कमी आएको छ ।

नयाँ नियमपछि गाउँपालिकाको न्यायिक समितिमा आउँन उजुरीमा समेत कमि आएको छ । यति मात्र होइन, खाने र विक्री गर्ने दुवै संयम देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV