१ भाद्र २०७७, सोमबार
  • घनश्याम मिश्र

जनकपुरधाम, १ भदौ । प्रदेश नं.२ मा पछिल्लो २४ घण्टामा २ सय ११ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार बारामा १ सय ६ जना, पर्सामा २७ जना, रौतहटमा १९ जना, सर्लाहीमा १८ जना, धनुषामा १७ जना, महोत्तरीमा १४ जना, सप्तरीमा ६ जना र सिरहामा ४ जना व्यक्ति संक्रमित भएका छन् । योसँगै यस प्रदेशमा संक्रमितको संख्या ७ हजार १ सय ७६ पुगेको छ । संक्रमितमध्ये ६ हजार २ सय ८४ पुरुष र ८ सय ९२ जना महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिनुभयो ।

प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाउँहरुमा निर्माण गरिएको १३ हजार ७ सय २८ बेड क्षमताको २ सय २१ वटा क्वारेन्टाइनमा अहिले १ हजार ४ सय १ जनालाई राखिएको छ भने २ हजार ३ सय ९ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ ।

पछिल्लो २४ घण्टामा यस प्रदेशमा ५५ जना व्यक्तिहरु अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा धनुषाका १५, महोत्तरीका १५, सर्लाहीका १९ र बाराका ६ जना व्यक्तिहरु रहेका छन् । योसँगै हालसम्म यस प्रदेशमा सप्तरीका ४ सय ५६, सिरहाका २ सय ५, धनुषाका ७ सय १४, महोत्तरीका ३ सय ८५, सर्लाहीका ६ सय ७१, रौतहटका ७ सय ५४, बाराका १ सय ८८ र पर्साका ३ सय ६९ जना गरि ३ हजार ७ सय ४२ जना संक्रमितहरु डिस्चार्ज भई आ–आफ्नो घर फर्किसकेका छन् ।

प्रदेश २ मा हालसम्म पर्सामा २१, धनुषामा ९, बारामा ६, सप्तरीमा ३, रौतहटमा ३, सिरहामा २, महोत्तरीमा २ र सर्लाहीमा १ जना गरि ४७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV