
काठमाडौँ, १ भदौ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा आजै (सोमबार) प्रकाशित भएको छ । बोर्डका अनुसार यस वर्षको एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
विद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा बोर्डले प्रमाणीकरण गरेपछि नतिजा सार्वजनिक गर्ने प्रावधान छ । माध्यमिक शिक्षा एसईई परीक्षाको नतिजा एसएमएस वा वेवसाइटहरुबाट हेर्न सकिनेछ । १६०० मा कल गरेपछि निर्देशन अनुसार सिम्बल नम्बर टाइप गरेपछि नतिजाको जानकारी सुनिनेछ ।
विद्यालय आफैँले मूल्यांकन गरेर पठाएको विद्यार्थीको नतिजालाई रुजु गरेर बोर्डले सार्वजनिक गरेको हो। परीक्षामा सहभागी हुन ४ लाख ८२ हजार ९ सय ८६ जनाले फाराम भरेका थिए। जसमा ४ लाख ७२ हजार ७८ जनाको नतिजा मात्रै प्रमाणीकरण गरिएको छ।
यसका अलावा विद्यार्थीले भक्तपुरको सानोठिमीमा रहेको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइट, राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, नेपाल टेलिकमको वेबसाइट, एनसेलको वेबसाइट, इडीयू सञ्जाल डटकम मार्फत पनि नतिजा हेर्न सकिने उल्लेख गरिएको छ ।