१ भाद्र २०७७, सोमबार
  • घनश्याम मिश्र

जनकपुरधाम , १ भदौ । सर्लाहीको दुई दिदी बहिनी अहिले आफ्नी आमाको हत्यारालाई कानूनी कटघरामा ल्याइयोस भन्दै न्यायका लागि भौतारिरहेका छन् । आर्थिक अवस्था जर्जर भएको दिदिबहिनी आमाको हत्या भएपछि उनीहरु दूबैजनालाई सहारा दिने कोही नभएपछि न्याय त परै जाओस आफै विस्थापित भएकी छन् । सर्लाही जिल्ला हरिपूर्वा नगरपालिका वडा नम्बर २ की २८ वर्षीया सविता कुमारी यादव र २२ वर्षीया आशा कुमारी यादव आफ्नै घरबाट विस्थापित भएर जनकपुरधाममा बस्दै आएका छन् । जनकपुरमा पनि उनीहरुले लुकिछिपी हिड्नु पर्ने बाध्यता रहेको छ ।

दुबै बहिनी जनकपुरधाममा नै रहेको बखत कौशिला देवीलाई अपहरण गरी हत्या गरियो । गत फागुन २९ गते अपहरणमा परेकी कौशिलाको शव भारतको बिहार राज्यको मलाही भन्ने स्थानमा बेवारिशे अवस्थामा फेला परेको थियो ।

आमाको हत्या पछि अहिले उनीहरु अनाथ झैँ जनकपुरधाममा जीवन बिताई रहेकी छिन् । कौशिलालाई माइतीबाट १ विघा २५ धुर जग्गा दिइएको थियो । सोही जग्गाका लागि आमाको हत्या गरिएको दिदी बहिनीहरुको भनाइ छ । आमाको हत्यापछि सविताले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा समेत जाहेरी दिई सकेकी छन् ।

घरबाट बेघर बनाइयो दिदिबहिनीलाई

आमा कौशिला देवी र बुवा नागो राय खुशी खुशी जीवन बिताई रहेका थिए । उनीहरु दूबै जनाले पहिलो सन्तानको रुपमा सवितालाई पाए । दोस्रो सन्तानको रुपमा छोरी आशा भइन् । त्यसपछि जन्मेका दुई छोरा यो संसारमा रहेन । नागोले छोरा पाउने आशमा महोत्तरी श्रीपुर कविलाशाकी मनपुरणी देवीलाई कान्छी श्रीमतीको रुपमा भित्र्याए । कान्छी श्रीमतीबाट नागोले दुई छोरा र दुई छोरी पाए । त्यसपछि मात्रै आफुहरुको दुःखका दिनहरु सुरु भएको सविताको भनाइ छ ।

सविताले भनिन् ‘हामी पढ्ने लेख्ने भई सकेका थियौँ, आमाले हामीलाई पढाउन चाहन्थे तर बुवा हामीलाई पढाउने पक्षमा थिएनन् ।’ बुवा नागो हाम्रो पढाई लेखाईका लागि खर्च दिन तयार नभएपछि आमाले छोरीहरुलाई पढाउनु पर्छ भन्दै आफ्नो अंशवण्डाका लागि जिल्ला अदालत सर्लाहीमा मुद्दा दिएको उनले बताइन् । आमाले हाम्रो पढाई खर्च उपर गर्नकै लागि अंश मुद्दा दिएकी थिइन् उनको भनाई छ । बुवाको ७ बिघा जग्गामा पनि अंश हुन्छ भन्दै मुद्दा चलिरहेको थियो आशाको भनाइ छ ।

७ वर्षदेखि चलि रहेको छ मुद्दा

आमाले अंश त पाइनन् बरु घरबाटै बहिष्कृत हुनु परेको आशाले बताइन् । उनले भनिन् ‘आमालाई बुवाले घरबाट निकालेपछि आमासंगै जनकपुरधाममा बस्न थाल्यौँ ।’ मुद्दा त ७ वर्षदेखि चलि रहेको छ छिनोफानो हुनेबाला नै थियो कि लकडाउन भयो त्यसैले अहिलेसम्म अदालतको फैसला आउन नसकेको आशाले बताइन् ।

सविताको बुवा नागोलाई फोक्सोको क्यान्सर थियो । आफ्नो अन्तिम समय आई रहेको देखेर बुवाले हामीलाई घरमै बस्न आग्रह गरेको सवितालाई बताइन् । उनले भनिन् ‘बुवा आफै आएर घर जान आग्रह गरेपछि हामीले अस्वीकार गर्न सकेनौँ’, अगाडि भनिन् ‘ आमा सहित हामी घर गएको ७ महिनापछि गत भदौमा बुवा बित्नु भयो ।’ बुवा बितेदेखि नै कान्छी आमाले हामीलाई प्रताडित गर्ने कुनै मौका नछाडेको सविताको भनाइ छ ।

कौशिला देवी सर्लाही हरिपूर्वास्थित नै घर रहेपछि सविता र आशा पढाईका लागि जनकपुरधाममै बसि रहेका थिए । एक दिन सविताले आमाको मोबाइलमा फोन लगाइन् । तर फोन उठेन । पूरै दिन फोन नउठेपछि सविता हरिपूर्वा पुगिन । घर पुगेर आमा कहाँ गइन् भनेर सोध्दा कान्छी आमाले मलाई थाहा छैन् , चाबी चप्पल यतै छ भनेर जवाफ फर्काएको उनले बताइन् । नभन्दै त्यसको दुई दिन पछि उनीहरुले आफ्नो आमाको शव भारत विहारको मलाही भन्ने स्थानमा प्राप्त गरे । आमाको जस्तै तिमीहरुको हत्या हुन्छ भन्ने धम्की आउन थालेपछि आफ्नै घरबाट बिस्थापित भएर जीवन व्यथित गरिरहेको दिदी बहिनीको भनाइ छ ।

मौन छ प्रशासन ?
आफ्नो आमाको हत्या कान्छी आमा लगायत गाउँकै काकाहरु मिलेर गरेको सविताको आरोप छ । उनले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कान्छी आमा मनपुरणी देवी सहित केही व्यक्ति बिरुद्ध जाहेरी दर्ता गराई सकेकी छिन । तर अपराधीहरु अहिले पनि खुलेआम घुमिरहेको र आफुहरुको हत्या पनि गरि दिने धम्की दिदै आई रहेको सविताले बताइन् । तर प्रहरी प्रशासन पनि हाम्रो सुरक्षा तथा दोषीलाई पक्राउ गर्न तदारुकता देखाउन नसकेपछि ज्यान जोगाउनकै लागि आफुहरु अहिले जनकपुरधाममा बसिरको उनको भनाइ छ ।

यता यस विषयमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक विश्वमणि पोखरेललाई प्रश्न गर्दा उहाँको जवाफ गैर जिम्मेबारपूर्ण थियो । उहाँले भन्नुभयो ‘हामी दुई दिनमा दोषीलाई समातौँ वा २० वर्ष पछि यो हाम्रो अनुसन्धानको विषय हो, कसैले भनेकै आधारमा हामीले कसैलाई उठाएर ल्याउने विषय होइन यो, प्रहरीले जाहेरी दर्ता गरि सकेको छ हामी अनुसन्धान गर्दैछौँ । ’

प्रतिक्रिया दिनुहोस्

LIVE TV