१ भाद्र २०७७, सोमबार
  • तारा आचार्य

विराटनगर, ०१ भदौ । समुदायमा धेरै कोरोना संक्रमित फैलिन थालेपछि कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा कोरोनाका लक्षण देखिएका संक्रमितहरुको उपचारलाई प्राथमिकता दिइने भएको छ ।पछिल्लो समय लक्षणसहितका संक्रमित बढेसँगै कोभिड अस्पतालमा सुविधाहरु विस्तार गर्दै लक्षण भएकाहरुको उपचारमा बढी प्राथमिकता दिइने अस्पताल संयोजक डा. दीपक सिग्देलले बताउनुभयो । उहाँले लक्षण नभएकालाई राख्दै नराख्ने भन्ने होईन, लक्षण भएकालाई बढी प्राथमिकता दिइने छ ।’ उहाँले कोभिड उपचार केन्द्रमा आईसीयु र भेन्टिलेटरसहितको सुविधा विस्तार गरिएकोे जानकारी दिनु भयो ।

उपचार केन्द्रमा ५ वटा भेन्टिलेटर र १० वटा आईसीयु वेड तयारी अवस्थामा राखिएको डा.सिग्देलले बताउनुभयो । आईसीयु र भेन्टिलेटर वेडसँगै आवस्यक जनशक्तिलाई तालिमको प्रवन्ध भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । २० जना स्टाफ नर्स र १० जना चिकित्सकलाई प्रदेश स्वास्थ्य तालिम केन्द्रले तालिमको प्रवन्ध गरेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो ।

सुविधा विस्तारसँगै जनशक्तिको अभाव नहोस् भन्नका लागि तालिमको प्रवन्ध गरेर जनशक्तिलाई तयारी अवस्थामा राखिएको मन्त्री घिमिरेले बताउनुभयो । कोभिड १९ उपचार केन्द्रमा आईसीयु र भेन्टिलेटर सुविधा थपिएसँगै वेड संख्या १ सय पुगेको छ ।

कोभिड उपचार केन्द्रमा लक्षणसिहितका संक्रमितको उपचार गरिने छ भने आइसोलेसन सेण्टरमा सामान्य संक्रमितको उपचार गरिने सामजिक विकास मंत्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV