१ भाद्र २०७७, सोमबार

काठमाडौँ, १ भदौ । नेपाल–भारतबीच ओभरसाइट मेकानिजम (संयुक्त निगरानी संयन्त्र) को सोमबार काठमाडौँमा भिडियो संवाद सम्पन्न भएको छ । नेपालमा भारतीय सहयोगमा निर्माणाधीन परियोजनाहरुको प्रगति सन्तोषजनक रहेको निष्कर्ष निकाल्दै बैठक सम्पन्न भएको छ । बैठकमा दुवै पक्षले भारतीय सहयोग अन्तर्गत विकास परियोजनाहरूको प्रगतिको समीक्षा गरेका थिए ।

भर्चुअल माध्यमबाट भएको बैठकमा नेपालको तर्फबाट परराष्ट्र सचिव शंकरदास वैरागीले नेतृत्व गर्नुभएको थियो भने भारतको तर्फबाट नेपालका लागि भारतीय राजदूत विजयमोहन क्वात्राले गर्नुभएको हो । साथमा भारतीय दूतावासका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो । झण्डै तीन महिनापछि दुई पक्षबीच पहिलो पटक औपचारिक वार्ता भएको हो ।

बैठकमा अहिलेसम्म आयोजनाहरुको प्रगतिलाई सन्तोषजनक मान्दै आवश्यकताअनुसार थप सहकार्य गरेर परियोजनाहरुलाई टुंग्याउने भन्ने विषयमा छलफल गरिएको स्रोतले जनाएको छ । साथै बैठकमा मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको बारेमा पनि छलफल भएको थियो । दुवै पक्षबीच भारत सरकारको सहयोगमा आर्थिक र विकास सहयोग परियोजनाहरु कार्यान्वयनमा भएको प्रगतिको समीक्षा गर्न पारस्परिक सुहाउँदो मितिमा पर्यवेक्षण संयन्त्रको अर्को बैठक गर्ने कुरामा सहमति भएको छ ।

सन् २०१९ को नोभेम्बरमा भारतले जारी गरेको नक्सामा नेपाली भूमि पनि समावेश गरेपछि दुई देशबीचको सम्बन्ध चिसिएको थियो । भारतीय सञ्चार माध्यमहरुले भने यो वार्तालाई ऐतिहासिक भन्दै दुई देशको सम्बन्धमा यस बैठकले नयाँ आयाम थप्ने उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV