१ भाद्र २०७७, सोमबार
  • भगतराम थारु

बर्दिया, ०१ भादाै । तराईको पश्चिम थारु समुदायमा अझै पनि पुरानो पराम्परागत अनुसार देवी देवताहरुलाई धान उत्पादन र कीरा तथा रोग व्यावधानहरुबाट धानलाई बचाउनको लागि पूजा गर्ने चलन रहि आएको छ ।

थारु समुदायमा नयाँ नयाँ प्रबिधि अनुसार खेती तथा नयाँ जातका धानहरुको बीउ विजन लगाउन तथा आधुनिक प्रविधि अनुसार चलनचल्ती सुरु भएपनि देवी देउतालाई साक्षी राखेर संस्कृतिलाई बचाउन पूजापाठ गर्ने चलन रहेको छ ।

थारु समुदायमा पुस्तौ देखि चल्दै आएको हरेरी पूजा अझै पनि कायमै रहेको छ । धान रोपाई सकेपछि धान उत्पादन तथा धान, मकैजस्ता बालीनालीमा राम्रो उत्पादन होस भन्नको लागि हरेरी पूजा गरिने चलन रहेको थारु अगुवाहरु बताउछन् ।

देबी देउतालाई पूजा गरे धान उत्पादनमा बृद्धि हुने किरा तथा धानमा लाग्ने बिभिन्न किसिमको रोगबाट समेत बचाउनको लागि पूजा गरिने गरेको बढैयाताल गाँउपालिका ५ का किसान फागु थारुले बताउनुहुन्छ ।

पूजा गर्नको लागि गाँउभरका किसानहरुले हरेक घरको ५ देखि १० रुपैँयासम्म मिलाएर पूजा गर्ने समग्री किनेका हुन्छन् । गाउँमा भएको २ जना झाँक्री (गुरुवा) लाई बोलाएर बिभिन्न किसिमका माटोका देवी देउताको मुर्ति र जनावरको मुर्ति बनाएर पूजा गर्ने चलन पुस्तौदेखि चल्दै आएको थारु अगुवाहरु बताउँछन् । पूजा गरेर पुर्खाले चलाएको पराम्परा र देउताहरुमा विश्वास लाग्ने सोही गाँउका किसान गोन्दि प्रसाद थारुले बताउनुहुन्छ ।

हरेरी पूजा गर्दा धान उत्पादनमा बृद्धि हुने र पुर्खाले चलाएको पराम्परा समेत जर्गेना हुने देखिन्छ । देउताहरुलाई खुशी पर्नाको लागि कुखुरा तथा जनावरको पूजा दिने गरिन्छ । कुनै कुनै ठाउँमा अहिले मिठाई र भातमा मकै र सेलरोटी मिलाएर प्रसाद बनाएर देउतालाई चढाउने गरेका छन् । हरेक बर्ष मनाईने यो पर्व परम्परागत रुपमा चलिआएको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV