१ भाद्र २०७७, सोमबार
  • सुरेन कुँवर

चितवन, १ भदौ। जिल्ला प्रहरी कार्यालय चितवनले यहाँको सीमा नाकामा कडाई गरेको छ । एक हप्ताका लागि घोषणा भएको निषेधाज्ञासँगै प्रहरीले जिल्ला भित्रिने नाकाहरुमा कडाई गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नान्तीराज गुरुङले जानकारी दिनुभयो ।

जिल्लामा रहेका ७ वटा स्थानीय तहमध्ये माडी नगरपालिकामा अहिले निषेधाज्ञा छैन । जिल्लाको उत्तरतर्फको सीमा मोवाखोला, पश्चिमतर्फ सीमा नारायणी पुल र पूर्वीतर्फको सीमा लोथरमा चेकचाँजलाई कडा पारिएको गुरुङको भनाई छ । कोरोना भाइरसको जोखिमलाई न्यूनिकरण गर्न सीमा क्षेत्रमा झण्डै ६ सय बढी प्रहरी परिचालन गरेको कार्यालयले जनाएको छ ।

प्रहरीले सीमाबाट लुकीछिपी प्रवेश गर्ने मानिसहरुलाई मध्यनजर राख्दै चौबीसै घण्टा ‘ड्युटी र अन द स्पट’ कारबाहीसमेत लागु गरेको छ । शुक्रबारबाट भरतपुर महानगरले निषेधाज्ञा सुरु गरेपनि ईच्छाकामना गाँउपालिकासहित रत्ननगर, कालिका, खैरहनी र राप्ती नगरपालिकाले भने शनिबार रातिदेखि लागु हुने गरी निषेधाज्ञा घोषण गरेका थिए ।

जिल्लाको मूख्य बजार क्षेत्र पुलचोक, मुग्लिन, आँपटारी, शहिदचोक, लायन्सचोक, वीरेन्द्र क्याम्पस, हाकिमचोक, गोन्द्राङ, टिकौली, टाँडी बजार, खैरहनी पसौ बजार, भण्डारा, लोथर, गीतानगर, र चनौली लगायतका ठाँउमा प्रहरीको विशेष टोली खटिएका छन् । यस्तै सुरक्षालाई थप मजबुत बनाउन तीनै तहका सुरक्षाकर्मी परिचालन गरिएको छ ।

१४ लाख बढी राजश्व संकलन

निषेधाज्ञाको समयमा मास्कको प्रयोग नगरी हिँड्ने १२ सय जना बढीलाई प्रहरीले नियन्त्रणमा लिएर छाडेको छ । निषेधाज्ञा लागु गरेको ३ दिनको अवधिमा ३ लाख रुपैयाँ बढी राजश्व संकनल भएको प्रहरी उपरीक्षक गुरुङले जानकारी दिए । प्रहरीले निषेधाज्ञामा सामाजिक दुरी कायम नगरेको भन्दै जरिवान ५०० र माक्स प्रयोग नगर्नेलाई १ सय रुपैयाँ जरिवान ‘अन द स्पट’ गराउदै आएको छ ।

सीमाबाट २५ सय सवारी साधन फर्किए

चितवन प्रहरीले यहाँबाट अन्य जिल्ला तथा राजधानी प्रवेश गर्न खोज्ने सवारी साधनलाई प्रवेश विन्दुबाटै फर्काइएको छ । सवारी अनुमति बिना जिल्लामा प्रवेश गर्न खोज्ने २५ सय जनालाई सीमाबाट फर्काइएको हो ।

कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाका अनुसार निषेधाज्ञाकै क्रममा पुल्चोक नाकाबाट मात्रै साईकल, मोटरसाईकल, सानो र ठुलो सवारी गरि १५ सवारी साधन र लोथर नाकाबाट १ हजार सवारी साधन फिर्ता फिर्ता पठाइएको बताए । त्यस्तै आँपटारीबाट १ हजार जनालाई आधादेखि १ घण्टा होल्ड गरि फर्ता पठाईएको जानकारी दिनुभयो ।

कोरोना नियन्त्रणमा नागरिक स्वयम् सचेत नभई राज्यको तर्फबाट मात्र गरिएको प्रयासवाट संक्रमण नियन्त्रण र न्यूनिकरणको काम प्रभावकारी नहुने भएकोले आम नागरिकलाई प्रकोप नियन्त्रणमा सहयोग गर्न समेत चितवनका सबै स्थानीय तहले आग्रह गर्नुभएको छ ।

निषेधाज्ञा सफल पार्न ८ वटा मोबाइल गस्ती परिचालन गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले दुई दिनमा गरि चितवनका विभिन्न नाकाको यात्रु तथा चालक कारबाहीसँगै सचेतना दिने र सम्झाइ बुझाइ छाडेको जानकारी दिनुभयो ।

यस्तै चितवनमा नेपाली सेनाको कालीबहादुर गणका झण्डै १ सय ५० जना बढी सेना र सशस्त्र प्रहरीको गढीमाई बाहिनी अन्र्तगत चितवनमा शसस्त्र प्रहरी बलका २ सय जना परिचालित समेत समन्वय गरि परिचान भएको चितवन प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV