१ भाद्र २०७७, सोमबार
  • रामगोपाल तमखु

भक्तपुर, १ भदौ । विश्वमा महामारीरुपमा फैलिरहेको कोरोना भाइरसका कारण यो बर्ष आज भक्तपुरको ऐतिहासिक एवं बिश्व प्रसिद्ध पञ्चदान पर्व पनि प्रभावित भएको छ । आज मनाउने पंन्जारां (पञ्चदान) पर्वमा कुनै पनि बह (बिहार) खुलेनन् ।

भक्तपुर नगरपालिका र पात्रासंग सम्वधित पाँच पंकरहरुका प्रतिनिधिहरु बसेर आज पाँच दीपंकरलाई बहबाट ननिकाल्ने र नगर परिक्रममा नगराउने र बह (बिहारहरु) नखोल्ने निर्णय गरेको थियो । तर पनि धर्म प्रति आस्था राख्नेहरुले बहको बाहिर ढोका मै पूजा गरि दान दिने गरेका छन् ।

बिगत बर्षहरुमा भक्तपुर जिल्लाको बिभिन्न पाँच वटा टोलमा रहेका दीपंकर बुद्धहरुलाई पूजा तथा दान दिएर पञ्चदान पर्व मनाइन्छ । यो पर्व काठमाडौ, पाटन,कीर्तिपुर, थिमी, बनेपा, पनौतीमा भन्दा भक्तपुरमा पृथक तरिकाबाट मनाईन्छ । अरु शहरहरुमा बिहारहरुमा गएर दान गर्न जान्छ भने भक्तपुरमा पाँच जना दीपंकरहरुलाई बिहारबाट निकाली टोल टोलमा घुमाई पूजा तथा दान लिने गरिन्छ ।

बौद्धधर्ममा यो पर्व बुद्ध बोधिसत्वहरुको पूजा गर्ने र बुद्धधर्ममा दीक्षित भएका संघ सदस्यहरुलाई दान प्रदान गर्ने पर्वसंग सम्बन्धित छ । यी दिनहरुमा विशेष गरेर दीपंकर बुद्धलाई पूजा गर्ने र यहाँको परम्परागत विहारहरुमा भिक्षु भईसकेका शाक्य वज्राचार्यहरुलाई स–सम्मानका स्वागत सत्कार गरी दान आदान प्रदान गरिन्छ ।

काठमाडौं उपत्यकामा मनाइने विभिन्न बौद्ध संस्कृति एवं पर्वहरुमा दान गरिन्छ । स्मरणीय छ दीपंकर बुद्ध भन्नाले शाक्यमुनी बुद्धलाई बुद्ध हुन्छ भनेर भविष्यवाणी गर्ने बुद्ध थियो । यो पर्व हजारौं वर्ष पहिले देखि नै साउन महिनाभित्र दुई पटक धूमधामका साथ मनाईदै आएका छन् ।

गुँला महिना (साउन महिना) मा पहिलो पटक साउनशुक्ल अष्टमीको दिन पाटनमा मनाईन्छ भने दोश्रो पटक भाद्र कृष्ण त्रयोदशी काठमाडौं, भक्तपुर, बनेपा, ठिमी, पनौती, कीर्तिपुर आदि ठाउँहरुमा मनाईन्छ ।

नेपालमा यो पञ्चदान पर्वको इतिहास र परम्परालाई हेर्दा यो नेपालको आफ्नै मौलिक संस्कृति र परम्परा रहेको स्पष्ट छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV