१ भाद्र २०७७, सोमबार
  • उत्तम पौडेल

पोखरा, १ भदौ ।  काेराेनाकाे माहमारी भएपनि चाडबाडको मौसम नजिकिँदै गर्दा पोखरा लगायतका मुख्य शहरमा भीडभाड बढ्दै गएकाे छ ।

एकातिर कोरोना संक्रमितको संख्यामा बृद्धि हुनु र अर्काेतर्फ चाडबाड नजिकिँदै गण्डकी प्रदेशको राजधानी पोखरा लगायतका स्थानमा कोरोनाको जोखिम बढ्ने अड्कल गरिएको छ ।

सोही कुरालाई मध्यनजर गर्दै पोखरा महानगरपालिका, जिल्ला प्रशासन कार्यालय कास्की र गण्डकी प्रदेश सरकारबीच कुन-कुन स्थान कसरी सिल गर्ने भन्ने बिषयमा छलफल भैरहेको जनाइएको छ ।

संक्रमित हेरेर गण्डकी प्रदेशको बिभिन्न क्षेत्र सिल हुन सक्ने

हालसम्म गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार ७ सय ३९ पुगेको छ । त्यस्तै आइसोलेसनमा रहेकाको संख्या १ सय ८४ पुगेको छ । आइतबारसम्म भारत लगायतका बिभिन्न मुलुकबाट आएकाको संख्या १ हजार ९ सय १ सय १३ रहेको छ ।

पछिल्लो समय गण्डकी प्रदेशमा संक्रमितको संख्या बढेसंगै प्रदेशका कुन कुन स्थान कसरी सिल गर्ने ? कास्की जिल्ला र पोखरा महानगरपालिका कसरी सिल गर्ने भन्ने बिषयमा छलफल भैरहेको जनाइएको छ ।

मंगलबारदेखि पोखरा १ साताका लागि सिल गर्ने तयारी

पोखरा महानगरपालिकाले आइतबार बिभिन्न दलका नेता तथा सरोकारवालासँग छलफल गरेर महानगरपालिका सिल गर्ने निष्कर्ष निकालेको छ ।

मेयर मानबहादुर जिसीले पोखरा सिल गर्ने बिषयमा आइतबार नै जानकारी गराउनुभएको थियो । मंगलबार देखि महानगरपालिका सिल गर्ने तयारी भैरहेको र सोही जानकारी प्रदेश सरकारलाई गराइएको पनि महानगरपालिकाले जनाएको छ । पोखरा महानगरपालिका ७ दिनका लागि सिल गर्र्ने तयारी भइरहेको छ ।

पोखरा मात्र नभइ कास्की नै सिल हुन सक्ने

त्यस्तै एक जिल्लाबाट अर्काे जिल्ला आवतजावत गर्नेको संख्या क्रमिकरुपमा बृद्धि भए सँगै जिल्ला नै सिल गर्नुपर्ने स्थिति सृजना भएको हो ।

लकडाउन शुरु भएसँगै कास्की जिल्लाबाट बाहिरिनेको संख्या दैनिक करिब २०० भएको जिल्ला प्रशासन कार्यालय कास्कीका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिनुभएको छ ।

यसैगरि कास्की जिल्ला भित्रिनेको संख्या पनि सोही अनुपातमा हुनसक्ने अनुमान गरिएको छ । कास्की जिल्ला नै सिल गर्ने हो र ? भन्ने हाम्रो प्रश्नमा हालसम्म छलफल भैरहेको तर निश्कर्ष ननिस्कीएको पौडेलले जानकारी दिनुभएको छ । जिल्ला सिल हुन पनि सक्छ , पौडेलले न्युज २४ लाई बताउनुभयो ।

आज अपरान्ह ४ बजे टुंगो लगाउने गण्डकी प्रदेशको तयारी

गण्डकी प्रदेश सरकारको आज ४ बजे बैठक बस्दै छ । आज बस्ने बैठकले गण्डकी प्रदेश भित्रका कुन कुन स्थान बढी जोखिममा छन भन्ने निष्कर्ष निकाल्ने र सोही स्थानहरु सिल गर्ने तयारी रहेको छ । यसरी कोरोनको इपिसेन्टर बन्ने खतरा बढेसंगै गण्डकी प्रदेश सरकारले नाकामा कडाई गर्ने लकडाउन गर्ने तथा कुन कुन स्थानमा के कसरी सिल गर्ने हो ? भन्ने सबैको चासोको बिषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV