१ भाद्र २०७७, सोमबार
  • शितल भट्ट

कञ्चनपुर, १ भदौ । विभिन्न बहानामा निर्माण कम्पनीले दक्षिणी क्षेत्रकाे विकास र समृद्धिसँग खेलबाड गरिरहेको छ । कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने दैजी–बेल्डाँडी सडकखण्ड अन्तरगत बल्मानदी पुल निर्माणमा ठेकेदार कम्पनीले पटकपटक चिप्ला कुरा गर्दै दक्षिणी क्षेत्रकाे विकास र समृद्धिसँग खेलबाड गरिरहेको हाे ।

निर्माण कम्पनीले ठेक्का सम्झौता पाएको पाँच वर्ष पूरा हुँदासमेत पुल निर्माण कार्य पूरा गर्न सकेकाे छैन । यात्रु नदी तरेर कष्टकर यात्रा गर्न बाध्य छन् ।

्र

लामो समयदेखि दक्षिणी क्षेत्रकाे विकास र समृद्धिसँग खेलबाड गर्ने यस्ता निर्माण कम्पनीलाई घाेक्रे ठ्याक लगाउनुपर्ने बेलडाँडीका सचेत युवा कुलैराज उपाध्यायकाे भनाइ छ । उनले भने, ‘जनता र सडक डिभिजन कार्यालयले ताकेता नगर्दा निर्माण कम्पनीले मनपरी गरिरहेको छ ।’

सडक डिभिजन कार्यालय महेन्द्रनगर र निर्माण कम्पनीको चरम लापरबाहीका कारण सम्झौता सकिएको पनि दुई वर्ष बितिसक्दा समेत पुल अझै निर्माण हुन नसकेको अर्का स्थानीय जयसिंह कुवँरकाे कथन छ ।

एमएसकेएस एडभेन्चर नन्देगडा जेभीले सडक डिभिजन कार्यालयसँग ०७४ पुष २६ गतेभित्र पुल निर्माणको काम सम्पन्न गर्ने सम्झौता गरेको थियो । सम्झौता उहिल्यै सकियो तर अहिलेसम्म पनि पुल निर्माण कार्य पूरा नहुँदा दक्षिणी क्षेत्रका जनतालाई दैनिक आवतजावतमा समस्या परेको नेकपाका नेता एवम् बेलडाँडी इञ्चार्ज अक्कल बिष्टको भनाइ छ ।

उनले भने, ‘निर्माण कम्पनी र सडक डिभिजन कार्यालय महेन्द्रनगरबीच २०७२ पुष २७ गतेदेखि निर्माणको काम शुरु गरी २०७४ पुष २६ गतेसम्म पुल निर्माण गरिसक्ने सम्झौता भएको थियो । ९७ मिटर लम्बाइ ११ मिटर चौडाइको पुल निर्माणका लागि ८ करोड ४७ लाख बराबर लगायतको स्टमेट गरिए पनि निर्माण कम्पनीले ६ करोड ८० लाख रुपैयाँमा सम्झौता गरेको थियो ।

रकम तिरेर आवत-जावत

ठेक्का सम्झाैताकाे पाँच वर्षसम्म पनि पुल निर्माण नहुँदा यात्रुले जोखिम मोलेर मात्र नभई वर्षातमा रकम समेत तिरेर नदीमा आवत-जावत गर्नुपर्ने बाध्यता छ । यस वर्ष पनि असारदेखि नै यात्रुले नदी तर्नका लागि रकम तिरेर आवत-जावत गर्नु परेको छ ।

वर्षातमा नदीको बहाव बढ्दा साईकल, मोटरसाईकल र अटो तर्न समस्या हुने भएकाले सवारी साधन तराइदिए बापत यात्रुले रकम तिर्नुपरेको नेपाली काङ्ग्रेस जिल्ला सदस्य जनक सिंह धामीले बताए ।

तत्कालीन जिल्ला विकास समिति कञ्चनपुरले १० वर्षअघि निर्माण गरेको स्लेभ नदीको दुई ठाउँमा टुट्दा ठुलठुला खाडल परेका छन् । ‘नदीको बीचमा दुई खाडल छन्, कमै पानी भए पनि अटो तराउन सकिदैन,’ अटो चालक देवराज जोशीले भने, ‘दुई पटक अटोको मुल ईन्जिन बिग्रिसक्यो, कमाएको पैसा अटोकै लागि ठिक्क हुन्छ । कतिपय साथिहरुका अटो ईन्जिन नै सिज भएका छन् । एकातिर अटोको ब्याज तिनुपर्ने अर्कातिर कमाएको रकम बनाएर त्यतिकै सकिन्छ ।’

‘नदीमा पानीको बहाव बढेपछि वारपार गर्न सकिँदैन, पुलको तल रहेको स्लेभ समेत टुटफुट भएपछि झन जोखिम बढेको छ,’ बेलडाँडीका स्थानीय सुरेन्द्र देउवाले भने, ‘मोटरसाईकल चालक सुरेन्द्र देउवाले साइकल, मोटरसाइकल र अटो तराएबापत स्थानीयले ५० रुपैयाँदेखि २ सय रुपैयाँसम्म लिने गरेका छन् ।’

स्थानीय युवाहरुले पनि जोखिम मोलेर सवारी साधन तराईदिनु ठिकै रहेकाे भन्दै  पाँच-पाँच वर्षसम्म पनि पुल नबनाउने ठेकेदार र सडक डिभिजन कार्यालय दोषी रहेको उनले बताए ।

सरकारले जनताको सुविधाका लागि पुल निर्माण गर्न योजना दिएपनि सडक डिभिजन कार्यालय र ठेकेदारको उदाशिनताका लागि बर्षनी स्थानीयले समस्या खेप्नु परेको उनको अनुभव छ ।

‘कमिशनखाेरीले काम बनेन’

पुल निर्माणको काम रोकिएपछि स्थानीयले ठेकेदार भागेको आरोप लगाएका छन् । बेल्डाँडीका स्थानीय दिनेश ठकुराठीले सरकारले जनतालाई विकास दिन नसकेको बताए ।

‘सरकारले ठेक्का दिन्छ, ठेक्का सम्झौताअनुसार काम हुँदैन्, ‘उनले भने, ‘सबैतिर कमिसन वितरण गर्नुपर्छ, निर्माणको काम आफै ढिलासुस्ती भयो ।’ अहिले बर्षातमा नदी आएका बेला आवत जावत पनि ठप्प भएको बताउदै उनले ठेकेदारले काम गर्न छाडेर फरार भएको बताए ।

‘पुल बनिरहेको थियो,’ उनले भने, ‘यसपटकको बर्खामा पुलबाटै यात्रा गर्न पाईने आशा थियो । तर त्यो आशा निराशामा परिणत भयो । फेरि पनि तलबाटै जोखिमपुर्ण यात्रा गर्नु परेको छ ।’ शुरुवाती चरणदेखि नै निर्माणका लार्पबाही भएको उनले भनाई छ ।

दुईपटक म्याद थप

निर्माण कम्पनीले सम्झौताअनुसार काम गर्न नसक्दा दुईपटक म्याद थप गरिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ ।

सडक डिभिजन कार्यालय महेन्द्रनगरका सुचना अधिकारी लक्ष्मण दत्त जोशीले कार्यालय र ठेकेदार कम्पनीबाट स्टमेटमा त्रुटी हुँदा निर्माणमा ढिलाई भएको स्वीकार गरे । यस वर्ष पुल निर्माण सम्पन्न हुने सडक डिभिजन कार्यालयले दाबी गरेको छ ।

उनले नयाँ स्टमेट अनुसार ठेकेदार कम्पनीले काम नगरिदिँदा ढिलाइ भएको बताए । ‘हाम्रो तर्फबाट शुरुमा केही प्राविधिक कमिकमजोरी भयो,’ उनले भने, ‘त्यसपछि ठेकेदार कम्पनीले पुरानै स्टमेट अनुसार काम गर्दा समस्या भयो ।’

शुरुको ठेक्कामा कम परिमाण थियो, अहिले केही वृद्धि भएकाले निर्माण कम्पनीले बखेडा झिकेर काम रोकेको उनले बताए । तर, कार्यालयले निर्माण कम्पनीसँग ताकेता गरिरहेको सुचना अधिकारी जोशीले बताए । उनले वर्षातका कारण पुल निर्माण कार्य रोकिएको पनि बताए । ‘अहिले बर्षात छ, पानी राेकिएको छैन,’ उनले भने, ‘निर्माण कम्पनीले पनि काम गर्न चाहेको छ, तर हामीले पानी कम भएपछि काम गर्न भनेका छौँ ।’

ठेकेदारका चिप्ला कुरा

एमएसकेएस एडभेन्चर नन्देगडा जेभीका सञ्चालक धुव्र कुँवरले विभिन्न कारणबाट निर्माण कार्य ढिलाइ भएको स्वीकार गरे पनि चिप्ला कुरा गर्दै आइरहेका छन् । उनले कार्यालयसहित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले ६ महिना काम रोकेको, नाकाबन्दी, लकडाउन, पुलको डिजाइन, आदि काम गर्दागर्दै ढिलाइ भएको भन्दै चिप्ला कुरामै सीमित छन् ।

तर पनि सरकारले यस्ता ठग-ठेकेदारहरुलाई कालाे सुचीमा राख्न सकेकाे छैन् । काम नगर्ने र काममा ढिलासुस्ती गर्ने जाेकाेहि निर्माण कम्पनीलाई कार्वाही गर्नुपर्ने बेलडाँडीका स्थानीय सचिन कठायतकाे भनाइ छ ।

वषौँदेखि पुलको अभाव खेप्दै आएका दक्षिणी भेगका जनता मर्कामा परेकाले विकास निर्माणमा बेवास्ता नगर्न सुझाव दिएका छन् । सबै निकायले जिम्मेवारीपुवर्क कर्तव्य निर्वाह गर्नुपर्नेमा स्थानीयले जोडदिएका छन् । राज्यबाट जनताका लागि विनियोजित सेवा सुविधामा दोहन नगर्न समेत आग्रह गरेका छन् । पुल निर्माणमा काम काट्ने तरिकाले कमसल गुणस्तरहीन काम गरेर त्यसका विरुद्धमा अख्तियार धाउने लगाउने कडा संघर्ष गर्ने चेतावनी समेत स्थानीयले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV