१ भाद्र २०७७, सोमबार
  • नन्दराम खड्का

रोल्पा, १ भदौ । कालोपत्रे गरेको डेढ वर्ष नबित्दै जीर्ण बनेको घोराही होलेरी शहिद मार्गको बारेमा भदौ २ गते रुन्टीगढी गाउँपालिकाको होलेरीमा सर्बदलिय सर्बपक्षिय छलफल हुने भएको छ।

छलफलमा दाङ र रोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु लगाएत शहिद मार्ग अनुगमन समितिका संयोजक घोराही उप-महानगरपालिकाका मेयर नरुलाल चौधरी लगाएतको सहभागिता रहने रोल्पाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले जानकारी दिनुभएको छ।

शिल प्यासिफिक जेबी निर्माण कम्पनीको गुणस्तरहीन निर्माण कार्य तथा सोनापुर सिमेन्ट कारखानासहित अन्य दुईवटा सिमेन्ट कारखानाका टिप्परहरू यसै सडक खण्ड भएर गुड्ने भएकाले घोराही-होलेरी शहिद मार्गको कालोपत्रे अधिकांश ठाँउमा उप्किसकेकाे छ।

पछिल्लो समय यस सडक भएर यात्रा गर्ने रोल्पा,रुकुम,प्युठान र सल्यानका यात्रुहरुलाई शास्ती खेप्न बाध्य बनेका छन्। यतिसम्म कि सडकमा एम्बुलेन्सलगायत साना सवारी गुडाउनै मुस्किल बनेको छ। यसअघि नागरिक स्तरबाट पटकपटक शहिद मार्गको स्तरोन्नतिको बारेमा आवाज उठ्ने गरे पनि कुनै पनि निकायले सुनेको थिएन।

तर न्युज २४ टेलिभिजनको लोकप्रिय कार्यक्रम सिधाकुरा जनता सङ्ग टीम घरदैलो कार्यक्रम अन्तर्गत साउन १७ गते रोल्पाको होलेरी आइपुगेको थियो। साउन १८ गते आइतबार कार्यक्रम होलेरीबाटै लाइभ प्रशारण भयो। उक्त कार्यक्रममा कार्यक्रम संचालक रवि लामिछानेले सबैभन्दा जोडदार रूपमा शहिद मार्गको विषयमा उर्जा जलस्रोत तथा सिंचाइमन्त्री बर्षमान पुनको ध्यानाकर्षण गराउनुभएको थियो।

लाइभ कार्यक्रममै शहिद मार्गको स्तरोन्नति गर्छौं भनेर उर्जा मन्त्री पुनले बोलेको तीन साता नबित्दै बर्षौंदेखि कसैले चासो नदिएको शहिद मार्गको बारेमा प्रदेश कानुन मन्त्री लगाएतको सहभागीतामा शहिद मार्ग अनुगमनका लागि समिति निर्माण गरिनु र छलफलको तयारी गरिनु कार्यक्रम सिधा कुरा जनतासंगको प्रभाव रहेको रोल्पाका जनताहरुको बुझाइ रहेको छ।

धेरैपटक आफुहरुले आवाज उठाउँदा पनि कसैले नसुनेको र रबि लामिछाने रोल्पा आउँदा नै शहिद मार्गको विषयमा ठुलो प्रभाव परेको स्थानीय अगुवा देबेन्द्र बोहराले बताउनुभयो।

LIVE TV