१ भाद्र २०७७, सोमबार

एजेन्सी, १ भदाै । कोरोना महामारीकाे असरका कारण न्यूजिल्यान्डको आम चुनाव सरेकाे छ । त्यहाँकी प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नले कोरोना भाइरस संक्रमण फेरि देखापरेकाे भन्दै चुनाव एक महिनाका लागि पछाडि सारिएको घोषणा गरेकी छन् ।

पूर्वनिर्धारित मितिमै हुन्थ्याे भने न्यूजिल्याण्डमा आउँदो सेप्टेम्बर १९ मा आमचुनाव तय गरिएकाे थियाे । तर संक्रमण पुनः देखापरेपछि अब अक्टोबर १७ का लागि मतदानको मिति सार्वजनिक गरिएकाे छ ।

प्रधानमन्त्री ज्यासिन्डाले चुनावको नयाँ मिति सार्वजनिक गर्दै यसले पार्टीहरुलाई परिवर्तित परिवेशमा नयाँ रणनीतिहरु बनाउन र चुनावी अभियान चलाउन पनि थप अवसर दिने बताएकी छन् । भाइरसले गम्भीर रूप नलिएमा अब अक्टाेबरमै चुनाव हुने बताइएकाे छ ।

न्यूजिल्याण्डको सबैभन्दा ठूलो शहर ओक्ल्याण्डमा पुनः केही मानिसमा काेराेना संक्रमण देखिएपछि लकडाउन लागु गरिएको छ । यसअघि काेराेना संक्रमण शुन्य भएकाे लामाे समयपछि त्यहाँ आइतबारसम्म ४९ जनामा संक्रमण पुष्टि भएकाे छ । न्यूजिल्यान्डमा कुल संक्रमितको संख्या भने १ हजार ६२२ पुगेकाे छ भने २२ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV