३२ श्रावण २०७७, आईतवार

काठमाडौं, ३२ साउन । सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री रामबहादुर थापा बादलबीच सिन्धुपाल्चोकका पहिरो पीडितहरुका लागि राहत र पुनस्र्थापनाका विषयमा छलफल भएको छ।आज सिंहदरवारस्थित सभामुख सापकोटाको कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले जिल्लामा बाढी पहिरोका कारण ठूलो जनधनको क्षति भएको र एक सयभन्दा बढी घरपरिवार विस्थापित भएकोले उनीहरुलाई पुनस्र्थापित गर्ने विषयमा गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

गृहमन्त्रीले जुरे पहिरोका पीडितका लागि सर्वसाधारणबाट उठेको सहयोग रकम वितरणको लागि निर्णय गर्न भएको ढिलाइबारे चासो राख्नुभयो । उहाँले बाढी पहिरोबाट ज्यान गुमाएका परिवारलाई आर्थिक राहत प्रदान गरिने र बिस्थापितको पुनस्र्थापनाका लागि छिटोभन्दा छिटो काम थालिने जानकारी दिनुभयो ।

गृहमन्त्री थापाले जुरे पहिरो पीडितका लागि सर्वसाधारणबाट उठेको रकम वितरणसम्बन्धी निर्णयका लागि आफूले पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । यही साउन ३० गते सिन्धुपाल्चोकको जुुगल गाउँपालिका–२ लिदिमा गएको पहिरोमा परेका ३९ जनामध्ये आइतबार साँझसम्म १९ जनाको शव फेला परेको छ ।

त्यसअघि गत असार २४ गते राति गएको पहिरोमा परी बाह्रबिसे नगरपालिकाको जम्बु, खागदल र भोटेकोशी गाउँपालिकाको बुल्कुटे, असार ३१ गते बिहान खसेको पहिरोले भोटेकोशी गाउँपालिकाको फुल्पिङमा ठूलो मानवीय र भौतिक क्षति भएको छ ।

आजै सभामुख सापकोटाले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसँग जोखिममा रहेका सिन्धुपाल्चोकका लिदि, नाम्फा लगायतका बस्ती स्थानान्तरणको काम थाल्नेबारे छलफल गर्नुभएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले स्थलगत अध्ययनका लागि भूगर्भविद्सहितको टोली पठाइ विस्थापितको पुनस्र्थापना एवं बस्ती स्थानान्तरण सम्बन्धमा प्रतिवेदन तयार गर्ने योजना बनाइसकेको र छिट्टै प्रभावित क्षेत्रमा पठाइने जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV