३२ श्रावण २०७७, आईतवार
  • उत्तम पौडेल,

पोखरा, ३२ साउन । पोखरा महानगरपालिका कोरोनाको इपिसेन्टर बन्ने हो कि ? भन्ने आशंका बढेसँगै महानगरपालिका सिल गर्ने तयारी भइरहेको छ । आज मात्र पोखरा महानगरपालिकाभित्र २४ जना नयाँ संक्रमित फेला परेसँगै पोखरा महानगरपालिका कोरोनाको इपिसेन्टर बन्ने हो कि ? भन्ने आशंका पैदा भएको हो ।

दैनिक संक्रमितको संख्या बृद्धि हुनुका साथै समुदायस्तरमा कोरोना फैलिएसँगै पोखरा सिल गर्न लागिएको महानगरपालिकाका मेयर मानबहादुर जीसीले बताउनुभयो । जीसीले स्थानीय स्तरमा सबै दलका नेताहरुको बैठक राखेर महानगरपालिका सिल गर्ने छलफल अगाडि बढाउनुभएको थियो ।

Pokhara Valley

बैठकमा कोरोनाको जोखिम बढेको भन्दै पोखरा सिल गर्न सबै सकारात्मक रहेको पनि मेयर जीसीले जानकारी दिनुभयो । अब गरिने महानगरपालिका सिल लकडाउन भन्दा फरक हुने र कडाइका साथ लागू गरिने मेयर जिसीले जानकारी गराउनुभयो ।

कम्तीमा पनि २ हप्ता सिल गर्न सके मात्र महानगरबासीलाई संक्रमणको जोखिमबाट बचाउन सकिने जीसीले बिश्वास ब्यक्त गर्नुभयो । लकडाउन खासै प्रभावकारी नभएको र लकडाउन खुला गरेसँगै संक्रमण बढेको जीसीले बताउनुभयो ।

संक्रमण अझै बढ्न सक्ने हुँदा सिल गर्नुको बिकल्प नरहेको पनि मेयर जीसीले न्युज २४ लाई बताउनुभयो । सर्वदलीय बैठक अनुसार सबै राजनीतिक पार्टीको छलफलमा आजको मितिसम्म संक्रमितको संख्या २०० भन्दा बढी पुगेको हुनाले सिल गर्नुपर्ने निष्कर्ष निकालिएको हो ।

चाडबाडमा संक्रमणको घटना बढ्ने आशंकाले गर्दा तुरुन्त सिल गर्नुपर्ने महानगरपालिकाको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV