
- सविन लामिछाने
दमौली, ३२ साउन । व्यास नगरपालिकाले एक साताको लागि लकडाउन गर्ने भएको छ । समुदाय स्तरमा कोरोनाको उच्च जोखिम देखिए सँगै सोमबार दिउँसोको १२ बजे देखि लकडाउन गरिने भएको छ ।आइतबार नगरपालिकामा सर्वपक्षीय वैठकले नगरपालिका एक साताको लागि लकडाउन गर्ने निर्णय गरेको हो । व्यास १ भादगाँउकी एक ६९ वर्षीया वृद्धामा कोरोना संक्रमण पुष्टि भएपछि परिवारका सदस्यको परीक्षणका क्रममा थप पाँचजनामा कोरोना संक्रमण देखिएको हो ।
नगरपालिकामा पनि समुदाय स्तरमा कोरोना देखिएपछि एक साता लकडाउन गर्ने निर्णय गरेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “ केही दिन अघि छिमेकी भानु नगरपालिकामा कोरोना सामुदाय स्तरमा देखिएपछि यस पालिकामा पनि जोखिममा रह्यो । त्यसपछि यहि पालिकामा पनि समुदाय स्तरमा कोरोना देखिएपछि जोखिम न्यूनीकरण गर्न लकडाउन गर्ने निर्णय गरेका हौं । ”
गत चैत ११ देखि जारी गरिएको लकडाउन असारमा खुल्ना साथ बजारमा भीडभाड बढ्नाले कोरोनाको जोखिम निम्त्याएको उहाँले बताउनुभयो । लकडाउन अवधिमा नगरभित्र स्वास्थ्य सेवा र सरसफाई बाहेक अन्य सेवा पूर्ण रुपमा बन्द गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,“लकडाउनको अवधिमा समुदाय स्बाब संकलनलाई पनि तीव्रता दिईने छ । कन्टयाक्ट टे«सिङबाट स्वांब संकलन गरि जोखिम कम गर्ने छौं । ”
लकडाउनको पालना गदै सबैलाई घरमै बस्न नगरप्रमुख न्यौपानेले आग्रह गर्नुभयो । यस्तै नगर भित्रका सबै टोल विकास संस्थाहरुले निगरानी गरी शङकस्पद अवस्था देखिएमा तत्काल नगरपालिकाको स्वास्थ्य शाखामा सुचना दिन आग्रह गरिएको छ । यसैबीच आँबुखैरेनी गाँउपालिकाले पनि एक साता अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरु बन्द गर्ने भएको छ ।
गाँउपालिकाको छिमेकी पालिकाहरुमा समुदाय स्तरमा कोरोनाको जोखिम बढेकोभ भन्दै गाँउपालिकाले पनि एक साताका लागि अत्यावश्यक सेवा मात्र संचालन गर्ने निर्णय भएको गाँउपालिका अध्यक्ष गिरबहादुर थापाले बताउनुभयो ।