३२ श्रावण २०७७, आईतवार
  • रबिना बोहरा,

बागलुङ, ३२ साउन । बागलुङमा कोरोना भाइरस संक्रमणको दर बढ्दै गएपछि सवारी साधनमा जोर÷बिजोर प्रणाली लागू गरिएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङले सूचना प्रकाशन गरी आजबाट लागू हुने गरी जिल्लाभित्र सञ्चालन हुने सवारी साधनमा जोर÷विजोर प्रणाली लागू गरेको हो ।

जिल्ला कोभिड—१९ व्यवस्थापन समिति र जिल्ला सुरक्षा समिति बागलुङको छलफलले उक्त निर्णय गरेको बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताउनुभयो । अर्को सूचना नभएसम्मका लागि अत्यावश्यक बाहेकका निजी तथा भाडाका सवारी साधन (दुई पांग्रे समेत) सबै सवारी साधन जोर बिजोर प्रणालीमा सञ्चालन गर्न आग्रह गरिएको छ ।

यस्तै खुला स्थानमा मानिसहरु जम्मा नहुने, भीडभाड नगर्ने, मठ मन्दिरमा हुने दैनिक नित्य पुजा बाहेकका सबै पुजा बन्द गर्ने, उद्योग व्यापार व्यवसाय अन्तर्गत स्वास्थ्य मापदण्ड विपरितका क्रियाकलाप नगर्न पनि निर्देशन दिइएको छ ।

यस्तै शैक्षिक संस्थाहरु सञ्चालन नगर्ने, फुटपाथ, ठेलागाडामा सञ्चालन गर्ने व्यवसाय बन्द गर्नेलगायतका निर्णय भएको प्रमुख जिल्ला अधिकारी न्यौपानेको भनाइ छ ।

केही दिनअघि मात्रै जनप्रतिनिधिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि जिल्लामा कडाई गर्न थालिएको हो । समुदायमा भाइरस फैलन सक्ने जोखिमको न्यूनीकरणका लागि कडाई गर्न थालिएकाले नागरिक स्तरबाट नै यसलाई परिपालन गर्न प्रशासनले आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV