३२ श्रावण २०७७, आईतवार
  • रमेश बजगाई

कैलाली, ३२ साउन । पूर्व-पश्चिम (महेन्द्र) राजमार्ग अन्तर्गत कैलालीको चिसापानीदेखि अत्तरिया सडक खण्ड मर्मत नहुँदा यात्रुहरुलाइ सास्ती भएको छ । मुख्य राजमार्गको ठाउँ-ठाउँमा खाल्डा परेपछि अहिले यो सडकमा हिँडडुल गर्न समस्या भएको हो । यस राजमार्गमा दैनिक हजारौँ सवारी साधन गुड्ने गरेका छन् ।

चिसापानीदेखि अत्तरियासम्मको ७९ किलोमिटर सडक बिग्रिएको लामो सयम भइसक्दा पनि कसैले मर्मतमा चासो नदेखाएको कैलालीको चुहा बजार व्यवस्थापन समितिका अध्यक्ष लोक देउवाले बताउनुभयो । सडकको कन्तबिजोग भएपछि दुर्घटनाको जोखिम पनि बढेको छ ।

तीन तहको सरकारका मानिस यही सडकबाट हिँडडुल गरे पनि कुनै वास्ता नगरिएको घोडाघोडी नगरपालिका- १ का व्यापारी जिया लाल आचार्यले बताउनुभयो । बारम्बार सडक मर्मतका लागि स्थानीयहरुले आग्रह गरे पनि सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।

सुदुरपश्चिम सरकार विकासको गीत गाउँदै हिँडेको छ । अर्कोतर्फ जनता हिँड्ने सडकको हालत यस्तो छ । सडक जीर्ण बन्दै जानु मर्मतमा कसैको ध्यान नजानुले सडकको अवस्था नाजुक बन्दै गइरहको छ । असार महिनाबाट राजमार्गको अवस्था यस्तो भए पनि सामान्य माटो हाल्ने कामबाहेक अरु केही भएको छैन ।

देशको एक मात्र राष्ट्रिय राजमार्गको हाल यस्तो हुँदा पनि प्रदेश सरकार सुतेर बसेको स्थानीयले आरोप लगाएका छन् ।

यता, सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख अर्जुनकुमार बमले अबको केही दिनभित्रै मर्मतको काम सुरु गरिने बताउनुभयो । ठुला खाल्डा परेको ठाउँमा मर्मत भए पनि अब केही दिनभित्रै सबै सडक मर्मतको काम सुरु हुने उनले जानकारी दिनुभयाे ।

आवधिक मर्मत कार्य जारी रहेको बताउँदै कार्यालयले चिसापानी, लम्की, बौनिया, अत्तरिया, बनबेहडा, पहलवानपुर लगायतका ठाउँमा मर्मत कार्य सम्पन्न भैसकेको जानकारी दिएको छ ।

कार्यालयले मर्मतको ठेक्का २०७५ फागुनमै दिएको थियो । सडक मर्मतको ठेक्का कालिका/जोशी जेभीले पाएको छ । सम्झौतामा उसले तीन वर्ष भित्र मर्मतको काम सक्नुपर्ने उल्लेख छ ।

कार्यालयले हरेक ५ वर्षमा राजमार्गको आवधिक मर्मत गर्दै आएको छ । राजमार्गको अवस्था बिग्रियो भने त्यो भन्दा अघि पनि आवधिक मर्मतको काम हुने गरेको सडक डिभिजन महेन्द्रनगरका प्रमुख अर्जुनकुमार बम बताउँछन् । उनले यसका अलावा राजमार्गको मर्मत र रेखदेखको काम नियमित हुने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV