३१ श्रावण २०७७, शनिबार

जनकपुरधाम, ३१ साउन । प्रदेश २ मा आज थप १ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बागमती र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा गरिएको परीक्षणमा १ सय ९४ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।

योसँगै यस प्रदेशमा संक्रमितको कुल संख्या ६ हजार ८ सय २१ पुगेको छ । आज आएको रिपोर्ट अनुसार सबैभन्दा बढी सर्लाहीमा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सर्लाहीपछि पर्सामा ४८, धनुषामा ३२, सप्तरीमा २७, महोत्तरीमा १४, सिरहामा ११, रौतहटमा ५ र बारामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ११ महिलासहित ६४ जना निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेहरुको संख्या ३ हजार ६ सय १२ पुगेको छ । आज यस प्रदेशमा १ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

वीरगजमा ६० वर्षीय एक बृद्धको मृत्यु भएको हो । योसँगै यस प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

LIVE TV