
- सुमन कार्की,
पाल्पा, ३१ साउन । पाल्पाको रम्भा गाउँपालिका–३ पिपलडाँडाका २५ वर्षीय रवि विकको दुवै मिर्गौला फेल भएपछि आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । दुवै मिर्गौलामा समस्या देखा परेपछि अस्पताल धाउदा धाउदै ६/७ लाख रुपैयाँ खर्च भइसकेको उनको भनाइ छ ।
परिवकारको आर्थिक अवस्था कमजोर भएकै कारण रविको उपचारमा समस्या भएको हो । उनको साथमा श्रीमती र एक ४ वर्षीय छोरा रहेका छन् । कमाउने मान्छे आफै थला परेपछि परिवारको विचल्ली भएको रविको गुनासो छ ।
आफन्त तथा गाउँलेहरुको सहयोगले अस्पताल जाने/आउने र सामान्य उपचार गर्दै आएका छन् । तर, पनि सामान्य डायलासिस गर्नको लागि अस्पताल जान र आउनसमेत खर्च जुटाउन गाह्रो भइरहेको अवस्थामा मिर्गौला प्रत्यारोपण सपना जस्तै बनेको छ ।
गाडी चलाउने काम गर्दै आएका रविको एक्कासि आँखा धमिलो हुदै गएपछि अस्पताल जाँदा आफ्नो दुवै मृगौला खराब भएको थाहा पाए । अस्पतालले डायलासिस गर्नुपर्छ, भन्ने सुझाव दिदा सुरुमा उनले पत्याउनै सकेनन् ।
त्यस्तै, घरमा गएर बसेको ३/४ दिनपछि हात खुट्टा कम चल्ने, पेट फुलिनेलगायतका लक्षण देखा पर्न थालेपछि गाउँले र आफन्तहरु सबैको सहयोगमा उपचारका लागि काठमाडौं लगिएको पीडित विककी आमाको भनाइ छ ।
“अब केही बाँकी छैन, भएभरको पैसा सकियो । अस्पताल जाने गाडीभाडा समेत छैन” उनले भने । सरकारले मिर्गौला पीडितलाई निशूल्क डायलासिस गर्ने भनेपनि विकले ३ पटकसम्म आफैले पैसा तिरेर डायलासिस गरेको बताए ।
“निशूल्क त भन्ने मात्र रहेछ । जता गएपनि पैसा नभए केही नहुँदो रहेछ” गाउँपालिकाले सिफारिस गरिदिएपछि एक पटक भने निशूल्क पाल्पामै डायलासिस गरेको विकले बताए । केही आर्थिक सहयोग जुटेमा उपचारमा सहज हुन्थ्यो कि भन्ने रविमा उनका परिवारको आशा छ ।
मिर्गौला पीडित रविका दाईका छोरालाई पनि मिर्गौलाको समस्या छ । उनका दाईका छोराले विगत ४ बर्षदेखि औषधि खाँदै आइरहेका छन् ।