३१ श्रावण २०७७, शनिबार
  • मनिराज पाण्डे,

कालिकोट, ३१ साउन । कर्णाली राजमार्गका चार ठाउँमा आएको पहिरो हटाइएको छ । विहीबार राति कर्णाली राजमार्ग अन्तरर्गत सुर्खेत–जुम्ला सडकखण्डको कालिकोट खण्डका गगनेखोला, सेरीघाट, ताडी, बिहानी खोला र पिलीमा पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको थियो ।

सडक डिभिजन कार्यालय जुम्ला, जिल्ला प्रहरी कार्यालय कालिकोट र स्थानीय प्रशासनको पहलमा गगनेखोला बाहेक अन्य चार ठाउँको पहिरो हटाइएको हो । गगने खोलाको पहिरो हटाउन आज साँझ सडक डिभिजन कार्यालयको टोली स्काभेटरसहित गगने खोला जाने भएको छ ।

सदरमुकाम नजिकै ताडीमा गएको पहिरो हटाउदै गरेको दृष्य

भोलिसम्म कर्णाली राजमार्ग सूचारु भएमा काठमाडौं नेपालगञ्ज र सुर्खेतबाट कालिकोट जुम्ला र मुगुका लागि हिँडेका मालबहाक तथा यात्रुबहाक गाडीहरु सम्बन्धित स्थलतर्फ जान पाउने छन् ।

सुर्खेतबाट मुगुका लागि दैनिक उपभोग्य सामग्री ल्याएर आएका दश भन्दा बढी गाडी गगने खोलोमा शुक्रबार बिहानैबाट अड्किएको मुगुका ब्यापारी रतनबहादुर बिष्टले बताए ।

सडकमा ढुंगा निकाल्ने र राजमार्ग हुदै निर्माण गरिने स्थानीय सडकका कारण बर्षेनी सडक डिभिजन कार्यालय जुम्लाले दुःख भोग्दै आएको सडक डिभिजन कार्यालय जुम्लाका कार्यालय प्रमुख लिला भण्डारीले बताए ।

प्रत्येक बर्ष गगने खोलामा आउने पहिरो र टाकुल्लाखोलाको पुल नबन्दाको सास्ती स्थानीय नागरिकले खेप्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV