३१ श्रावण २०७७, शनिबार
  • तारा आचार्य,

विराटनगर, ३१ साउन । विराटनगरस्थित नोबेल अस्पतालको आकस्मिक बाहेकका सबै सेवाहरु बन्द गरिएको छ । नोबेल अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी र फार्मेसी कर्मचारी गरी १० जनालाई कोरोना संक्रमण देखिएपछि आकस्मिक बाहेकका ओपीडी, अपरेशनलगायतका सबै सेवाहरु बन्द गरिएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए ।

उनका अनुसार विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्र लकडाउन गरेका कारण पनि आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको हो । नोबेल अस्पतालका २ जना कोरोना संक्रमित चिकित्सकको राजधानी काठमाडौंमा उपचार भइरहेको जानकारी गराइएको छ ।

बाँकी ८ जना अस्पताल भित्रै रहेका र आइसोलेशनमा राखेर उपचार भइरहेको जनाइएको छ । कोरोना संक्रमित हुनेहरुमा ४ जना चिकित्सक, ३ जना नर्स, १ जना कर्मचारी र २ जना अस्पतालभित्रै रहेको फार्मेसीका कर्मचारीहरु रहेका छन् ।

करिब ११ सय चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरु रहेका नोबेल अस्पतालका १८३ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा परिक्षणको दायरा बढाइएको जनसम्पर्क अधिकृत दाहालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV