३१ श्रावण २०७७, शनिबार
  • शरद आचार्य,

चितवन, ३१ साउन । चितवनमा रहेको निजी अस्पताल पुष्पाञ्जली हस्पिटलले पनि कोरोना संक्रमितको उपचार थालेको छ । यस अघि निजी अस्पतालले संक्रमित देखिए पनि सरकारीमा पठाउने प्रबित्ति रहेको भएपनि पुष्पाञ्जलीले भने आफ्नै अस्पतालमा उपचार सुरु गरेको हो ।

साउन २७ गते अस्पतालमा भर्ना भएका एक पुरुषमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएपछि उनलाई सोही अस्पतालमा राखेर उपचार थालिएको हो ।

अस्पताल प्रशासनले आज (शनिबार) एक विज्ञप्ती जारी गर्दै कोरोना संक्रमित रत्ननगर नगरपालिका–९ टिकौलीका ६१ वर्षीय पुरुषको सघन कक्ष (आईसीयू)मा राखेर उपचार भइरहेको जनाएको छ ।

साउन ३० गते स्वास्थ्य मन्त्रालयबाट प्रकाशित सूचना र निर्देशन अनुसार नै कोरोना संक्रमितको उपचार गर्न लागिएको अस्पतालको भनाइ छ ।

कोरोना संक्रमित भएका व्यक्तिलाई हब अस्पतालसँग समन्वय गरेर उपचार गर्ने भनिएकाले हव अस्पतालको रुपमा रहेको भरतपुर अस्पतालसंग समन्वय गरेर उपचार थालिएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

संक्रमित पुरुषको स्वास्थ्य अवस्था गम्भीर तर स्थिर रहेको अस्पतालले जनाएको छ । ती पुरुषमा श्वासप्रश्वासमा समस्या देखिनुको साथै दुवै फोक्सोमा निमोनिया देखिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV