३१ श्रावण २०७७, शनिबार

काठमाडौं, ३१ साउन । प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज टेलिफोन वार्ता भएको छ ।

टेलिफोन वार्तामा प्रधानमन्त्री ओलीले भारतको ७४ औं स्वतन्त्रता दिवसका अवसरमा भारतीय प्रधानमन्त्री मोदीसहित सम्पूर्ण भारतीय जनतामा शुभकामना दिनुभएको बताईएको छ ।

लामो समयदेखि संवादहीनताको अवस्थालाई चिर्दै दुई देशका प्रधानमन्त्रीबीच आज भएको टेलिफोन वार्ताले दुई देशबीच चिसिएको सम्बन्धलाई सहज बनाउन सहयोग पुग्ने समेत बताइएको छ ।

यसअघि गत मार्चमा भएको कोरोना जोखिम नियन्त्रणका लागि दक्षिण एसियाको भूमिका विषय माथि भएको भिडियो कन्फ्रेन्सपछि उहाँहरुबीच यो पहिलो संवाद हो ।

‘लामो समयदेखि जमेको हिउँको ढिक्का फुटेको छ, यो टेलिफोन वार्ताले । पर्सिदेखि काठमाडौंमा सुरु हुने दुई देशबीचको वार्तालाई पनि सहज बनाउने छ,’ प्रधानमन्त्री ओली निकट सुत्रले न्यूज २४ लाई बतायो । यसले दुई देशबीचको सम्बन्धलाई थप सहज बनाउँदै लाने विश्वास पनि उनको छ ।

कालापानी लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालले नयाँ नक्सा जारी गरेपछि दुई देशबीचको सम्बन्ध चिसिँदै गएको थियो । त्यसयता पनि विभिन्न घटनाले नेपाल र भारतबीचको दूरी बढेको अवस्था देखिएको छ ।

टेलिफोन वार्तामा भएका कुराकानीका विषयहरु परराष्ट्र मन्त्रालयले आजै सार्वजनिक गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV