३१ श्रावण २०७७, शनिबार
  • ललन मंडल

महोत्तरी, ३१ साउन । महोत्तरीमा बोल्न नसक्ने एक महिलामाथि सामुहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ ।

यही साउन १० गते रामगोपालपुर नगरपालिका- ५ की एक ३५ वर्षीय बोल्न नसक्ने महिलामाथि स्थानीय दुईजना युवाद्वारा सामुहिक बलात्कार भएको थियो । १० गते राति करिब ९ बजे घरनजिक चौरमा शौच गर्न गएकी ती महिलालाई दुई युवकले रुमालले मुख बाँधेर उँखुबारीमा लगी बलात्कार गरेको पीडितले सांकेतिक भाषा (हाउभाउ)मा बताइन् ।

पीडित महिला

घटनाको भोलिपल्टै पीडित महिलाले इलाका प्रहरी कार्यालय रामगोपालपुरमा बलात्कारमा संलग्न दुई युवकमाथि उजुरी दिएकी थिइन् । उनले स्थानीय २६ वर्षीय जितु मण्डल र अर्का २६ वर्षकै स्थानीय खुर्के मुखियाविरुद्ध उजुरी दिएकी हुन् । आरोपीहरु भने खुलेआम घुम्दासमेत प्रहरीले पक्राउ नगरेको एक स्थानीयले बताए ।

घटनालाई मिलाउन आरोपीका बुबा रामगोपालपुरसँग वडा नम्वर ५ का वडा अध्यक्ष जितेन्द्र चौधरीले ६ लाख रुपैयाँ दिए घटना मिलाउने प्रतिबद्धता गरेको स्थानीयको आरोप लगाएका छन् ।

इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी निरीक्षक कैलास भट्टराईसँग यसबारेमा सोधपुछ गर्दा बलात्कारका आरोपी दुबै युवा फरार रहेकाले खोजीकार्य जारी रहेको र घटनास्थलमा बरामद भएको कपडा तथा मोबाइलसहितको सबुत प्रमाण जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पठाइसकेको बताए ।

घटना भएको दुई साता बित्दा समेत प्रहरीले आरोपीको खोजतलास र उनीहरुलाई पक्राउ गर्न खासै तदारुकता नदेखाएका कारण कतै पैसा र राजनीतिक शक्तिको आडमा घटना मिलाउन खोजेको त होइन भन्ने स्थानीयको शंका रहेको छ । उता पीडितलाई दबाब दिनुका कारण आफूले न्याय नपाउने त्रास बढेकाे भन्दै पीडित महिलाले न्यूज २४ संग न्याय दिलाइदिन गुहार गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV