३१ श्रावण २०७७, शनिबार
  • बाल बिक्रम कार्की

रौतहट, ३१ साउन । पारिवरिक आर्थिक स्थितिलाई माथि ल्याउने उद्देश्यले ४७ वर्षीया दिलमाया राईले २०७३ चैत्र ९ गतेदेखी च्याँउ खेती सुरु गरिन् । केही सपना, रहर अनि बाध्यताका बिचबाट उठेर उनले ४ कठ्ठामा भाडामा लिईन् । घरेलु तथा साना उद्योग कार्यालय गौरमा दिलमाया च्याउ उद्योग दर्ता गरेर यसको व्यवसायी खेतीमा लागिन् ।

च्याउको व्यवसायी खेतीसँगै उनको जीवनयापन पनि सहज हुँदै गयो । च्याउ खेतीसँगै मासिक ५० हजारदेखि १ लाख बढी कमाइ हुनथाल्यो । सोही आम्दानीबाट हौसिएर उनले बैंक तथा सहकारीबाट लाखौ रकम ऋण लिएर व्यवसाय बढाइन् । लगानी बढाएर च्याउ उत्पादन बढाउन टनेलको संख्यापनि थप्दै लगिन् ।

उनको च्याउ उद्योग देशकै नमुना च्याउ उद्योग बन्न सफल भएको थियो । विस्तारै उनलाई हौसला दिन र च्याउ उद्योगको अवलोकन गर्न जिल्ला तथा देशका विभिन्न ठाउँहरुबाट मानिसहरु पनि आइरहन्थे । यसकै आम्दानीबाट उनको ६ जनाको परिवार राम्रोसँग चलेको थियो ।
यसै व्यवसायमा उत्कृष्ट कार्य गरेर वापत उहाँ विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाबाट सम्मानित भइन् । सबै राम्रो चल्दा चल्दै उनको सफल च्याउखेतीमा जब आधि बेहेरी नै आयो, त्यसपछि उनको ढलेको सपना उठाउन सकिरहेकी छैनन् ।

टनेलहरुसँगै ढले दिलमाया राईको च्याउको सपना

जिल्लाकै नमुना च्याउ किसानको रुपमा चिनिएकी ४७ वर्षीया दिलमाया राईको च्याउको सपना च्याउ खेती गर्न बनाएका टनेलहरुसँगै ढलेका छन् ।जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ५ मा अरुको ४ कठ्ठामा भाडामा लिएर च्याउ खेती सुरु गर्नुभएको दिलमायाको सपनाहरु केही हप्ता अगाडि आएको हावाहुरी र पानीले लडाइदियो ।

हावाहुरी र पानीले च्याउ खेती गर्न तयार पारेका ४ वटा टनेलहरु लडाइदिएको छ । टनेल लडेसँगै टनेल भित्र राखिएका करिब ३ हजार पोका उम्रिन तयारी अवस्थामा रहेका च्याउका पोकाहरु पनि लडेर ३ दिनसम्म पानीमै डुबिरह्यो । सबै पोकामा च्याउ बनिसकेका थिए, च्याउहरु कुहिएर गयो उनले भनिन् ।

टनेल ढलेको देखेको देख्दा मनको ठुलो साहस नै ढले झेँ लागेको थियो । वर्षौदेखी संगालेर राखेको सपना, सहास थियो त्यो टनेल । जस्ले मलाई जिल्ला र जिल्ला बाहिर समेत चिनाएको थियो, सोही टनेल ढल्दा मन दुख्दैन होला र ! मानिसलाई कुनै व्यक्ति र राज्यले मात्र दुख दिँदो रहेन छ । कहिलेकाँही प्रकृतिले पनि दुख दिँदो रहेछ । प्रकतिको नियती यस्तै भयो भनेर चित्त बुझाउने मन बाहेक के नै छ र ।

त्यही टनेलमा सपना देखेको मात्र भए म टुक्रिन्न थिए होला धेरै सपना साकार भएका थिए । त्यसैले ती टनेल संगै मेरा सपना पनि ढलेका छन् । जुन पहिलाको जसरी सहजे उठाउन सक्ने सामर्थ म ममा छैनन्, दिलमाया ढलेका टनेल हेर्दै भनिन् ।

कोरोनाले प्रभावित पारेको व्यवसाय

तर कोरोना कहरको कारण नेपाल सरकारले चैत्र ११ गतेबाट सुरु भएको लकडाउनका कारण उनको उद्योग पनि नराम्ररी प्रभावित भयो । आफुले उत्पादन गरेको च्याउपनि बिक्री गर्न नसक्दा टनेलमा कुहिएर सकियो । यसबाट उहाँले लाखाैँको घाटा बेहोर्नु प¥यो ।
लकडाउन खुलेसँगै फेरी जुर्मुराएको उहाँको व्यवसायलाई प्राकृतिक प्रकोपले थलै बनाइदियो ।

दिलमाया भन्छिन्, ऋण र किस्ता कसरी तिर्ने ?
लकडाउनको कारणले बैंक र सहकारीबाट लिएको ऋणको किस्ता पनि तिर्न नसेको अवस्थामा टनेल लडेपछि अब केले ऋण र किस्ता तिर्ने हो भनेर उहाँ तनावमा हुनुहुन्छ । एउटा टनेल बनाउन ४० देखि ४५ हजारसम्म खर्च हुने भएकाले अब रिन तिर्न नसकेको बेला फेरि त्यत्रो रकम कहाँबाछ ल्याएर टनेल पुर्ननिर्माण गर्ने भन्ने चिन्ताले उहाँलाई सताउन थालेको छ ।

राज्यले कृषि क्षेत्रमा अर्बौ लगानी तथा अनुदान दिएको समाचार सुनेपनि आफुहरुले अहिलेसम्म त्यस्तो सुविधा लिन नपाएको उनी बताउछिन् ।

वैदेशिक रोजगारीमा हण्डर खाएपछि आमाकै सपनामा आफ्नो सपना मिसाएका थिए सुनिलले

२ वर्ष अघि वैदेशिक रोजगारीको लागि दुबई गएर भनेको जस्तो काम नपाएर १० महिनामै घर फर्किएका उहाँका जेठा छोरा सुनिल राई पनि आमाले च्याउ खेती गरेर स्वदेशमै आमासँगै च्याउ खेती गर्न सुरु गरेका थिए । उनले १ लाख ५० हजार खर्च गरेर विउ उत्पादन गर्ने तालिम लिएर घरमै विउ उत्पादन गर्दै आइरहेका छन् । विदेशमा दुःख पाएर स्वदेशमै कृषि क्षेत्रमा केही गर्न भनेर लागिपरेको युवाहरु राज्यले पनि लगानी गर्नुपर्ने उनी बताउँछन् ।

उहाँका कान्छा छोरा सुदिन राईपनि आमासँगै सोही च्याउ उद्योगमा काम गर्दै आएका छन् । सुरुमा विदेश जाने सोच बनाएपनि आमाले च्याउ खेती गरेर स्वदेशमै राम्रो आम्दानी गरेको देखेर उनी पनि आमासँगै सोही व्यवसायमा लागे ।

स्वदेशमा नै केही गर्छु भन्दा पनि राज्यबाट सहयोग भएन
राज्यले युवाहरुलाई स्वदेशमै केही गर्ने वातावरण बनाउनुपर्नेमा केही गर्छु भनेर लागि परेकाहरुलाई पनि केही सहयोग नपाएको उनले गुनासो गरे ।

राज्यले व्यवसायी किसानहरुलाई विभिन्न योजना तथा परियोजना मार्फत राहत , अनुदान तथा कृषि सामग्रीहरु वितरण गरिरहेको छ । तर ती राहत , अनुदान तथा कृषि सामग्रीहरु वितरणमा पनि अधिकासं पहुँचवाला तथा गैर किसानहरुको हालिमुहाली भइरहेको छ ।

दिलमाया जस्ता व्यवसायी किसानहरुले भने यस्ता सुविधाबाट बञ्चित हुनु परिरहेको छ । यस्तो अवस्थामा उहाँलाई राज्यका विभिन्न निकायहरुले अनुदान दिएर उहाँको व्यवसाय पुर्नः स्थापना गर्न सहयोग नगर्ने हो भने उहाँ यस पेसाबाट पलायन हुने र स्वदेशमै कृषि क्षेत्रमै केही गर्छौ भनेर बसेका उहाँका छोराहरु सुनिल र सुदिन पासर्पोट च्यापेर खाडी मुलुकतिर भाँसिनुको विकल्प छैन् । यसतर्फ सरोकावाला निकायको ध्यानजान अत्यावश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV