
- विजयदत्त मणि
नेपाल बन्दै छ।
कोही गाडीमा, कोही अटारीमा
कोही वन-जङ्गल, खेत-बारीमा
फगत छाक टार्न बाँझो खेत खन्दै छ।
नेपाल बन्दै छ ।
कोही चिथ्रा भेषमा खट्दै छन् विदेशमा
डाँका-फटाहा-लुटेरा लुटिरहेछन् देशमा
बसीबसी करोडौँ-अरबौँका गड्डी गन्दै छ।
नेपाल बन्दै छ ।
कोही मारामारमा, कोही कटाकाटमा
कोही हरदम व्यस्त छन् कुर्सी साटासाटमा
स्वार्थीहरूको झुण्डबीच मच्चिरहेको द्वन्द्वै छ।
नेपाल बन्दै छ ।
ताली बजाउनुस् या गाली सुनाउनुस्
फेरि पनि यसपाली जिताउनुस्
देश विकास मै गर्छु, आश गर्न भन्दै छ।
नेपाल बन्दै छ ।
घुस खानु, जन-रक्तको जुस खानु
यसभन्दा राम्रो पराल र भुस खानु
कात्रोमा कमिशन खानु यिनीहरूको धन्दै छ।
नेपाल बन्दै छ ।
जनता मरोस् बाढीमा अथवा महामारीमा
चामल-तेल-तरकारीमा पीडित कालाबजारीमा
नूनको भाउ सुन भए पनि उसलाई आनन्दै छ।
नेपाल बन्दै छ ।