३० श्रावण २०७७, शुक्रबार

काठमाडौं, ३० साउन । नेपालको अद्यावधिक राजनीतिक र प्रशासनिक अ्रंग्रेजी संस्करणको नक्सा सरकारले स्वीकृत गरेको छ ।

आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नापी विभागले तयार पारेको अंग्रेजी संस्करणको नेपालको नक्सा स्वीकृत गर्नुभएको हो ।

नापी विभागले तयार गरी नाप नक्सा समितिमा निर्णय गरी स्वीकृतिका लागि मन्त्रालयमा पेश गरेको थियो ।

विभिन्न कारणले छुटाइएको लिम्पियाधुरा, लिपुलेक, कालापानी सहितको भूभाग समेटेर नेपालले गत जेठमा नेपालको अद्यावधिक (राजनीतिक र प्रशासनिक) नक्सा प्रकाशन गरी राजपत्रमा समेत प्रकाशित गरेको थियो ।

सोही नक्साको अंग्रेजी संस्करणको नक्सा नापी विभागले प्रकाशन गरेको हो । नेपालको अद्यावधिक नक्सा जारी भएसँगै संयुक्त राष्ट्रसंघमा जानकारी गराउन सरकारले अंग्रेजी संस्करणको नक्सा जारी गरेको हो ।

अंग्रेजी संस्करणको नक्सा प्रकाशन भएसँगै संयुक्त राष्ट्र संघ, कुटनीतिक नियोगहरु, समग्र अन्तराष्ट्रिय जगतमा पठाउनका निम्ति बाटो खुलेको छ । अंग्रेजी संस्करणको नक्सा परराष्ट्र मन्त्रालयमार्फत पठाइने नापी विभागले जनाएको छ ।

गत जेठ ५ गते बसेको मन्त्रिपरिषदको बैठकले नयाँ नक्सा जारी गर्न स्वीकृति प्रदान गरेसँगै मन्त्रालयले जेठ ७ गते नयाँ नक्सा जारी गरेको थियो भने सरकारले संविधान संशोधन गरेर नेपालको निशान छाप समेत परिवर्तन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV