३० श्रावण २०७७, शुक्रबार
  • घनश्याम मिश्र

जनकपुरधाम, ३० साउन । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा आफ्ना कार्यकर्तामाथि लगाईएको झुठा मुद्दा खारेजको माग गर्दै नेपाली कांग्रेसका कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका छन् ।

नेकपा नेतृ पल्टिदेवी यादवको घरमा आगो लगाएको अभियोगमा आफ्ना पार्टीका कार्यकर्ता देवु यादव र सुरेश यादवलाई फसाउन खोजिएको भन्दै नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले पार्टी कार्यालय महेन्द्रनगरबाट जुलुस निकालेर नगर परिक्रमा गरेका छन् । उनीहरुले इलाका प्रहरी कार्यालय महेन्द्रनगर अगाडी प्रदर्शन समेत गरेका थिए ।

उनीहरुले आफ्ना कार्यकर्तामाथि लगाईएको झुठा मुद्दा खारेज गर, निर्दोषलाई फसाउन मिल्दैन, प्रहरी प्रशासन मुर्दावाद जस्ता नारा लेखिएको प्लेकार्ड सहित प्रर्दशन गरेका थिए । उनीहरुले प्रहरीले आफ्ना पार्टीका २ जना कार्यकर्तामाथि चलाएको झुठा मुद्दा फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

साउन २४ गते राति करिब १२ वजे धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२ रमदैयास्थित आफ्नो घरमा काँग्रेसका कार्यकर्ताहरुले नै आगो लगाएको र त्यस आगलागीमा आफ्नो ५ लाख बराबरको क्षति भएको भन्दै नेकपा नेतृ पल्टीदेवी यादवले उनीहरुमाथि मुद्दा दर्ता गराएकी थिईन् । आगलागीमा परि नेतृ यादवको घरमा रहेको एउटा गाई र बाछाबाछी समेत जलेको थियो ।

कांग्रेस नेता राम चन्द्र साहले भने,‘गोठमा काम गर्ने सुस्त मनस्थिती भएकी एक महिलाले लामखुट्टे धपाउन परालमा आगो बालेकी थिइन् । त्यही परालबाट आगो सल्केर प्लास्टिकको छाना भएको घरमा लाग्दा एउटा गाई, बाछो र एउटा बाछी मर्यो,यसमा हाम्रो कार्यकर्ताको के दोष ?’ उनले पहिलेदेखि गाउँमा भएको विवादका कारण राजनीतिक प्रतिशोधले रिसिबी साध्न दुबैजनालाई फसाइएको दाबी गरे । प्रतिनिधिसभा सदस्य रघुवीर महासेठको दबाबमा प्रहरीले दुबैजनामाथि झुठो मुद्दा चलाएको उनको आरोप छ ।

उनीहरुले सो घटनामा आफ्नो पार्टीका ति कार्यकर्ताहरुको संलग्नता नरहेको भन्दै पक्राउ परेका उनीहरुलाई रिहा गर्न र सत्यतथ्य छानविन गरि दोषीमाथि कारवाही गर्न प्रहरी प्रशासनसँग माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV