२९ श्रावण २०७७, बिहीबार
  • उत्तर बिष्ट,

डडेल्धुरा, २९ साउन । महाकालीमा पानीको सतह मापन गर्न स्वचालित मेसिन जडान गरिएको छ । डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका वडा नम्बर ५ परशुराम धाममा स्वचालित मेसिन ‘बब्लर गेज’ जडान गरिएको हो ।

पानीको बहाव मापन गर्ने उपकरण जडान गरिएपछि नदीमा बाढी आएर हुन सक्ने सम्भावित जोखिम कम हुने अपेक्षा गरिएको छ ।

स्वचालित मेसिन ‘बब्लर गेज’ जडान गरिएपछि विश्वको जुनसुकै ठाउँबाट नदीमा पानीको सतह बढेको सहजै जानकारी पाउन सकिन्छ । नदी किनारका बासिन्दालाई नदीको बहाव एक्कासी बढ्दा निम्तिन सक्ने जोखिमलाई मध्यनजर गर्दै उपकरण जाडान गरिएको हो ।

नदीमा बाढी आउन सक्ने खतराको उपकरणले पूर्व सूचना दिनेछ । जसले गर्दा तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउँन सहज हुने छ ।

उक्त उपकरणले कञ्चनपुरको भुजेलासम्मका स्थानीयलाई नदीको सतह बढ्न साथ सचेत गराउँने छ । यो उपकरणले नदीमा पानीको सतह सामान्य, मध्यम वा उच्च कस्तो छ भनेर जानकारी दिनेछ ।

पानीको सतह उच्च हुने वित्तिकै स्वचालित उपकरणले खतराको साइरन बजाउँछ । उक्त खतराको सूचना जल तथा मौसम विज्ञान विभागले अनलाइन मार्फत तुरुन्तै प्राप्त गर्ने छ र सर्वसाधरणलाई थप सावधानी अपनाउँन आग्रह गर्ने छ ।

उपकरणले हरेक समयको पानीको सतह बढे वा घटेको विवरण अध्यावधिक गराउने छ । इन्टरनेट वा फोनले काम नगरेको समयमा नदीले खतराको सतह पार गरे स्थानीयलाई समेत परिचालन गर्ने गरी संयन्त्र बनाइएको छ । पानीको बहावको अवस्थाको विषयमा कर्मचारी नै राखेर निरन्तर सूचना लिने सयन्त्र समेत बनाइएको छ ।

यो प्रबिधि नेपालका अन्य ठूला नदीहरुमा पनि जडान गरिएको छ । यस्ता उपकरण जडानले तटीय क्षेत्रका बासिन्दालाई बाढीको जोखिमबाट बच्न मद्दत पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV