२९ श्रावण २०७७, बिहीबार

काठमाडौं, २९ साउन । सरकारले अन्तर जिल्ला यातायातका लागि सवारी पास वितरण बन्द गर्ने निर्णय गरेपछि बिहीबार हतारिएर बाहिरिने र भित्रिने सवारी साधन नाकाहरुमा उल्लेख्य देखिए ।

बुधबार साँझ गृहमन्त्रालयले सूचना जारी गर्दै पास उपलब्ध नगराउन आदेश दिएपछि नाकामा सवारी साधनको भीड देखिएको हो । साउन २९ गते बिहीबारदेखि गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी अन्तर जिल्ला सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको थियो ।

त्यसै अनुरुप जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना प्रकाशन गर्दै काठमाडौंबाट अन्य जिल्लामा जानका लागि दिइदै आएको पास र काठमाडौं भित्रिनका लागि दिइने पास पनि बन्द गरिएको जनाएको छ ।

कोरोना भाइरस संक्रमण बढेसँगै अन्तरजिल्ला प्रवेशमा कडाई गर्न गृह मन्त्रालयले सम्पूर्ण जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो । ३० गतेदेखि अन्तर जिल्ला आवतजावत बन्द हुने र काठमाडौं उपत्यका छिर्न नपाइने भएपछि सवारी पासको अनुमति बन्द हुनु अघिल्लो दिन बिहीबार नागढुंगा थानकोट नाकाबाट उपत्यका छिर्ने सवारीको संख्या बढेको थियो ।

दैनिक करिब ३ सय सवारी उपत्यका भित्रिदै आएकोमा बिहीबार ४ सय सवारी उपत्यका भित्रिएको तथ्यांक छ । बिहीबारदेखि काठमाडौ जिल्ला प्रसासनले उपत्यका बाहिरका जिल्लाहरुबाट आउने सवारी पासको स्वीकृतिसमेत बन्द गरेको जनाएको छ ।

बिभिन्न वहानावाजी बनाएर पास लिने प्रवृति बढेको र संक्रमणको जोखिम बढेपछि यस्तो निर्णय गरिएको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ । एम्बुलेन्स ,खाद्यान्न ढुवानी, सञ्चार माध्यम लगायतका पास आवश्यक नपर्ने सवारी साधन भने चल्न पाउने छन् ।

सुविधाको नाममा पास लिएर शानसंग निर्वाध चलिरहेका सवारी साधनहरुले संक्रमणको पनि सवार गराएपछि सरकारले यो पछिल्लो कदम चालेको हो । तर यो व्यवस्थालाई कडाईका साथ लागू पर्ने आवाज पनि निर्णयसंगै उठन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV