२९ श्रावण २०७७, बिहीबार

काठमाडौं, २९ साउन । महामारीको संकट अझ बढेको छ । तर, सत्ताको बागडोर सम्हालेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आफ्नै विवादमा अल्झिएको छ ।

जनमतको वेवास्तामा अलमलिएको नेकपा विवाद समाधान होला त ? शंका/उपशंकाहरु यथावत् छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले एक अन्तरवार्तामा नेकपा विवाद समाधान पाँच दिनभित्र हुने बताएका थिए ।

त्यसको भोलिपल्टै अर्थात बिहीबार अध्यक्षद्वय ओली र पुष्पकमल दाहालबीच वार्ता भएको छ । के नेकपा विवाद टुंगिएला ?

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधव नेपाल पक्षबीच विवाद जारी छ । प्रधानमन्त्री ओली सरकार र पार्टी दुबै सञ्चालनमा असफल बनेको दाहाल–नेपालले निष्कर्ष निकालेका थिए ।

गुटगत भेला÷छलफलमा सक्रिय दुबै समूहबीचको सम्बन्ध चिसिदै गएको थियो । साउन २१ गते दाहाल समूहले पत्रकार सम्मेलन गरेपछि सोही दिन हुने भनिएको अध्यक्षद्वयबीचको वार्ता रोकियो ।

बुधबार मात्र एक अन्तरवार्तामा प्रधानमन्त्री ओलीले पार्टी विवाद पाँच दिनभित्र समाधान हुने दाबी गरेपछि बिहीबारबाटै वार्ता सुरु भएको छ । वालुवाटारमा भएको अध्यक्षद्वयबीचको वार्ता ‘समाधानउन्मुख’ भनिएको छ ।

तर, मुलुकका ठूला समस्याहरुमा गम्भीर बन्नुपर्ने यो बेला उनीहरु आन्तरिक किचलोमै फँस्दा राजनीतिक नेतृत्वप्रति नै अविश्वास सुरु भएको छ । नेकपा विवाद आजको होइन, पार्टी एकता भएलगत्तै अन्तरकलह सुरु भयो । एकपछि अर्को विषयका कारण नेताहरुबीच तितो सम्बन्ध रहँदै आएको छ ।

सरकारको कार्यशैली र पार्टीबीच नै मतभेद रहँदै आएको छ । सांगठनिक रुपमा बलियो मानिएको यो कम्युनिष्ट पार्टीभित्रको विवादले छवि विग्रिएको भन्नेहरुको जमात बढेको छ । नेकपामा अहिले त दुई अध्यक्षको नेतृत्व क्षमतालाई नै प्रश्न उठाउन थालेका छन् ।

नेकपाको पछिल्लो शक्तिसंघर्षमा दुई अध्यक्ष ओली र दाहाल अग्रपंत्तिमा छन् । वरिष्ठ नेता माधवकुमार नेपाल पनि नेकपा विवादको केन्द्रमा नै छन् । तर, पछिल्लो विवाद अध्यक्षद्वयबीच नै देखिएको छ ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले ‘पाँच’ दिनमा विवाद समाधान हुन्छ भनेपनि नेकपाकै कतिपय नेताहरु विश्वस्त हुन सकेका छैनन् । तर, ओली पक्ष भने विवाद समाधान हुनेमा विश्वस्त देखिन्छन् ।

गत असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठक पटक-पटक स्थगित हुँदै अनिश्चित बनेको छ । बैठक टुंगिन नसक्दा दलभित्रको ध्रुवीकरण तीव्र बनेको नेताहरुकै बुझाइ छ ।

वर्तमान कमिटीलाई महाधिवेशन आयोजक समिति बनाएर सहमतिको बाटो खोज्नेतर्फ पनि नेताहरु छलफलरत् रहेको नेकपा नेताहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV