२९ श्रावण २०७७, बिहीबार
  • बाल बिक्रम कार्की,

रौतहट, २९ साउन । तस्करी गरेर ल्याएको राँगाभैंसी लुकाएर राखेको सूचनाको आधारमा बरामद गर्न गएको प्रहरी टोली र स्थानीयबीच झडप भएको छ ।

जिल्लाको राजपुर नगरपालिकामा भारतबाट तस्करी गरेर ल्याएको राँगाभैंसी लुकाएर राखेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीलाई स्थानीयले अवरोध गरेपछि झडप भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार भारतीय सीमा जोडिएको सो नगरपालिकाको कुडिया बजारमा चोर बाटोबाट ल्याइएका ५८ वटा राँगाभैंसी बरामद गर्न जाँदा नेपाल प्रहरी र स्थानीयबीच झडप भएको हो ।

प्रहरीलाई बाटोमै अवरोध गर्न स्थानीयले ढुङ्गामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन ८ सेल अश्रुग्यास र ४ राउण्ड हवाइ फायर गरेको उनले जानकारी दिए । झडपपछि स्थिति सामान्य रहेको र सो स्थानमा तस्करी गरेर ल्याइएको भनिएको राँगाभैंसी नभेटिएको उनको भनाइ छ ।

झडपमा कुनैपनि मानवीय क्षति नभएको जनाइएको छ । प्रहरीलाई अवरोध गरेर स्थानीयले राँगाभैंसी सो स्थानबाट अन्यन्त्र लुकाएको हुनसक्ने प्रहरीको आशंका छ । पछिल्लो समय रौतहट प्रहरीले भारतबाट नेपालतर्फ हुने अवैध राँगाभैंसी तस्करी नियन्त्रणको लागि कडा कदम उठाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV