२९ श्रावण २०७७, बिहीबार

काठमाडौं, २९ साउन । कोरोना भाइरसको महामारी फैलदा सांसदहरुले समेत मास्क प्रयोग नगरेपछि संसदको विधायन समितिमा ध्यानाकर्षण नै गराइएको छ ।

सिंहदरवारमा बिहीबार बोलाइएको राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिका सभापति सहित कतिपय सदस्यहरुले मास्क प्रयोग नगर्दा सांसद जितेन्द्रनारायण देवले बैठकमा मास्क अनिवार्य गर्न सभापति परशुराम मेघी गुरुङको ध्यानाकर्षण गराउनुभएको थियो ।

समितिमा रहेका बिधेयकहरुलाई कसरी अघि बढाउने भन्ने बिषयमा छलफल गर्न बिहीबारको बैठक बोलाइएको थियो । बैठकमा सभापति गुरुङ, समिति सचिव लगायत केहि सांसदहरु मास्कविना बैठकमा सहभागी भएका थिए ।

सांसद देवले संवैधानिक आयोग, अदालत, सिंहदरबार सचिवालय लगायत कोरोनाबाट प्रभावित भएकाले समिति बैठक बस्दा सवैले मास्क लगाउनुपर्ने बताउनुभयो ।

यसअघि संघीय संसद सचिवालयले सांसदहरुलाई कोरोना संक्रमणबाट बँच्न पूर्व सर्तकर्ता अपनाउन सुझाएको थियो । बैठकले मंसिर महिनाभित्रै समितिमा रहेका विधेयकहरुको छलफल सक्ने र त्यसका लागि बिज्ञहरुको पनि सुझाव लिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV