२९ श्रावण २०७७, बिहीबार
  • घनश्याम मिश्र,

जनकपुरधाम, २९ साउन । जिलला संकट व्यवस्थापन समिति, धनुषाले कोरोना संक्रमणका कारण ज्यान गुमाएकाहरुको शव व्यवस्थापन सम्बन्धी निर्णय गरेको छ ।

समितिले सार्वजनिक गरेको शव व्यवस्थापन सम्बन्धी कार्यविधि अनुसार कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव सम्बन्धित पालिकाले व्यवस्थापन गर्नुपर्ने भएको छ ।

त्यस्तै, मृतकको शव व्यवस्थापन गर्ने स्थान, डोजर, गाडीलगायतका श्रोत साधनहरुसमेत पालिका आफैले व्यवस्था मिलाउनुपर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय, धनुषाका प्रमुख प्रशासकीय अधिकृत गणेश मिश्रका अनुसार उपचारका क्रममा अन्य पालिकाका संक्रमित व्यक्तिको जनकपुरमै मृत्यु भएमा जनकपुरधाम उपमहानगरपालिकाले नै शव व्यवस्थापन गर्नुपर्ने भएको छ ।

त्यस्तै जिल्लामा कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढिरहेको समयमा नगराइन नगरपालिका–५ गंगुलीस्थित मिथला आयुर्वेद मेडिकल कलेजको भवनमा रहेको आइसोलेसन सेन्टरमा तत्काल ५० वटा बेड थप हुने भएको छ ।

इता जटहिस्थित शहीद दुर्गानन्द अस्पतालको नवनिर्मित भवनलाई व्यवस्थित गरी आइसोलेसन सेन्टरमा परिणत गर्ने निर्णय समेत गरिएको प्रमुख प्रशासकीय अधिकृत मिश्रले बताए ।

हालसम्म धनुषामा ७ हजार ९ सय १४ जनाको स्वाब संकलन गरी परीक्षण गरिएको छ । जसमध्ये ९ सय ८ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, जिल्लामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV