२९ श्रावण २०७७, बिहीबार

काठमाडौँ, २९ साउन । कोरोना भाइरसका संक्रमितको उपचारका लागि रेम्डिसिभिर नेपालमा पनि प्रयोगमा ल्याइने भएको छ ।  औषधिको क्लिनिकल परीक्षणका लागि सहभागी हुन स्वास्थ्य सेवा विभागले अस्पतालहरुलाई आह्वान गरेको छ ।

कोरोना संक्रमणको उपचारका लागि विभिन्न मुलुकले प्रयोग गर्दै आइरहेको औषधि रेमडेसिभिर (इन्जेक्सन) नेपालमा पनि ‘क्लिनिकल ट्रायल’ हुने भएको हो । संक्रमणका कारण शिथिल भएर आईसीयू र भेन्टिलेटरमा रहेका बिरामीमा यो औषधि प्रयोग गर्न चिकित्सकहरूले लामो समयदेखि आवाज उठाइरहेका थिए ।

विभागले सूचना जारी गरी औषधि प्रयोग गर्न इच्छुक अस्पताललाई निवेदन दिन अपिल गरेको छ । अमेरिकाको जिलिड फर्मास्युटिकल्सले उत्पादन गरेको यो औषधि कोरोना संक्रमितको उपचारमा प्रभावकारी भएको भन्दै अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन ९एफडीए० ले क्लिनिकल ट्रायल गर्न मिल्ने जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन २६ गते रेम्डिसिभिर औषधि प्रयोगको लागि अध्ययन गर्ने निर्णय गरेको थियो । रेम्डिसिभिर सम्बन्धित चिकित्सकको सिफारिस तथा प्रत्यक्ष निगरानी र बिरामीको अनुमतिमा प्रयोग गर्न मिल्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो औषधि एक थानको ६ हजारदेखि २१ हजार रुपैयाँसम्म पर्न सक्ने छ । नेपाल औषधि ऐन २०३५ अनुसार क्लिनिकल ट्रायलका रूपमा प्रयोग भइरहेका औषधि दर्ता गरेर आयात गर्न नमिल्ने हुँदा अहिले आपत्कालीन प्रयोगका लागि चलाउन मिल्ने गरी मात्रै ल्याइने छ  ।

अरू एन्टिभाइरलभन्दा बढी प्रभावकारी भएकाले अध्ययन प्रयोगका लागि भए पनि रेमडेसिभिर नेपालमा पनि चाँडै आयात गर्न आवश्यक रहेको संक्रामक रोग विशेषज्ञहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV